अलग धार अभियान

प्रस्तावना :

साठीको दशमा नेपाली राजनीतिमा भएको परिवर्तन स्वस्फूर्त रूपमा नभई निश्चित राजनीतिक तथा सैद्धान्तिक अवधारणा, युगीन आवश्यकता, सामाजिक अन्तरविरोधबिचको चरम द्वन्द्व र नवीन यथार्थको वर्चश्वशाली हस्तक्षेपका कारण सम्पन्न भएको थियो । सामाजिक सुरक्षा, समानता र आत्मनिर्भर अर्थतन्त्रसहितको सवल र समुन्नत राष्ट्र निर्माण गर्ने महान् आकांक्षाले अभिप्रेरित भएर नै लाखौँ जनता राजनीतिक परिवर्तनको कष्टसाध्य यात्रामा संलग्न भएका थिए । हजारौँ सहिदको बलिदानद्वारा स्थापित राजनीतिक व्यवस्थाले आर्थिक, सामाजिक र सांस्कृतिक क्षेत्रमा आमूल परिवर्तन ल्याउने छ भन्नेमा विश्वस्त थिए ।

गणतन्त्र प्राप्त भएको लामो समय बितिसक्दा पनि जनयुद्ध र जनआन्दोलनले मार्गनिर्देश गरेका कार्यभारलाई पूरा गर्नुको साटो राज्यसत्ता यथास्थितिमै रमाएको छ । पुरातन सोच, मान्यता र सामाजिक तथा सास्कृतिक रुढताको ठाउँमा नवीन मूल्य र दृष्टिकोणको विकास गर्नुपर्नेमा कतिपय मुद्धामा पछाडि फर्किएको छ । पुरानो सत्ताले निर्माण गरेका राज्यसंयन्त्र र विचार निर्माणका सम्पूर्ण अवयवहरूलाई नभत्काएसम्म नयाँ आधारको निर्माण सम्भव हुन्न । पटक पटक भएका सशस्त्र सङ्घर्ष, जनआन्दोलन र जनयुद्धको बलमा गणतन्त्र स्थापना भए पनि सामाजिक र सांस्कृतिक क्षेत्रमा हामी पुरानै अवस्थाबाट गुज्रिरहेका छौँ । परिवर्तन भनेको यथास्थितिमा लिपपोत हैन, नयाँ निर्माण हो, नयाँ सृष्टि र नयाँ आविष्कार हो । पुरानै धारमा हिँड्नु परिवर्तनलाई आत्मसात् गर्न नसक्नु हो ।

म राजनीतिक परिवर्तनलाई आर्थिक, सामाजिक र सांस्कृतिक क्षेत्रमा आमूल परिवर्तनको रूपमा बुझ्छु । गणतन्त्रको नाममा सत्तास्वार्थको कपटी खेलमा रमाउनु र समाजवादको नाममा दलाल पुँजीलाई प्रश्रय दिनुले नेतृत्व परिवर्तनप्रति गम्भीर छैन भन्ने प्रष्ट हुन्छ । म निरन्तरतामा क्रमभङ्ग नगरेसम्म समतामूलक समाज बन्दैन भन्ने मान्यता राख्छु । साथै राजनीतिक, सामाजिक र सांस्कृतिक क्षेत्रमा अलग धार, अलग सोच र अलग दृष्टिकोण निर्माण नगरेसम्म हामीले सोचेजस्तो समृद्ध र सुखी नेपाल निर्माण हुन सक्दैन भन्ने विश्वाससहित यो घोषणापत्र जारी गर्दछु । 

अवधारणा :

(१) मानवीय मूल्यको पुनर्व्याख्या

(२) इतिहासको पुनर्मूल्याङ्कन

(३) पहिचान र मौलिकताको जगेर्ना

(४) समृद्ध राष्ट्र निर्माणका लागि निरन्तरतामा क्रमभङ्ग

(५) सामाजिक, राजनीतिक र सांस्कृतिक क्षेत्रमा अलग धारको निर्माण ।

विष्णु भण्डारी

१ वैशाख, २०७९ (१४ अप्रिल, २०२२), काठमाडौं


  प्रकाशित मिति : १ बैशाख २०७९, बिहीबार ०७:०१