- June 16, 2015 ekabita.com
‘प्रोफाइल’ स्थायी स्तम्भ हो । यस स्तम्भअन्तर्गत हामी एक कविको जीवनवृत्त उतार्छौं । विचार, लेखन प्रवृत्ति, विविधता, पठन, जीवनशैली, जीवन भोगाइका अन्य कोणबाट एक कविको खास जीवन खोतल्ने प्रयास गर्छौं । खास गरी कविको जीवन भोगाइक्रममा छेलिएका पक्ष उजागर गर्नु यस स्तम्भको उद्देश्य हो । यस अंकमा हामीले कवि विष्णु भण्डारीमाथि अर्का कवि तथा पत्रकार कला अनुरागीद्वारा लिखित आलेख लिएका छौं ।
–प्रधान सम्पादक
|| कला अनुरागी ||
विष्णु भण्डारीसँग केही देखिने निकटता छन् मेरा । ‘काव्यशिविर अभियान’मा सँगै थियौं । उनको घर कोटेश्वर र मेरो डेरा नरेफाँटबिच ‘एउटै गाउँ’ भन्न मिल्ने दुरी छ । उनको अध्ययनकक्षमा बसेर सँगै कफी पिउन र बेलामौका भान्सा ‘सेयर’ मलाई रोकछेक छैन । उनको समृद्ध ‘बुकसेल्फ’को फाइदा उठाउन पनि पाएको छु ।
उनीबारे लेख्न ‘ई–कविता डट कम’का सम्पादक प्रवीण बानियाँको प्रस्ताव आएपछि भने एउटा असजिलो मेरो अगाडि उभियो । अनौपचारिक मान्छेसँग औपचारिक प्रश्न गर्नु निकै असजिलो हुँदोरहेछ । पहिलोपटक अनुभूत गरें । आमासँग अन्तर्वार्ता लिन खोजेजस्तो भइरह्यो ।
प्रवीणलाई मैले बाचा गरिसकेको थिएँ । त्यसैले प्रस्ताव गरें । उनलाई पनि सायद उही असजिलोले गाँज्यो होला । भने, ‘तपाईंलाई सबै थाहा छँदै छ नि !’
उनले मलाई झन् असजिलोमा पारिदिए । मेरो पत्रकारिता जीवनमा एउटा कृति–टिप्पणी र त्यसको विमोचनको समाचारबाहेक उनीबारे केही लेखेको थिइनँ । उनले भनेनन्, मैले जानिनँ । पत्रकारितामा अक्सर देखिने सम्बन्ध दुरुपयोगमा उनले कहिल्यै उक्साएनन् । त्यो उनको बानी नै हो जस्तो लाग्छ ।
त्यसैले यो आलेखका लागि अन्तर्वार्ता दिन पनि खासै चासो दिएनन् किझैं लाग्यो । तर, मलाई त चासो थियो नि ! संयोगले एकदिन उनी मेरो डेरामा आइपुगे । मैले मौका छोपेर कुराकानी सुरु गरेँ । उनी तर्किन खोज्दै थिए, मैले छाडिनँ ।
छेउमा रेकर्डर पल्टिरहेको थियो । मसँग खास प्रश्न थिएनन् । बरु, उनैसँग जीवन भोगेको लामा–लामा उत्तर थिए । अन्तिम पुनर्लेखन गरिरहेको आफ्नो उपन्यासको कथावाचक पात्रलेझैँ उनले जीवनकथा सुनाइरहे । उनको रोमान्चक जीवनकथाले मलाई तानिरह्यो । दुई घन्टा निरन्तर बोल्दा उनी थाके । म भने थाकेको थिइनँ । बरु, आफूले लेख्नुपर्ने कथा भुलेर उनको कथामा डुबेको थिएँ ।
भोलिपल्ट उनकै अध्ययनकक्षमा थप कथा सुनें । जीवनको सोलोडोलो रेखाचित्र तानिसक्दा झन्डै तीन घन्टा बितेछ । निरन्तर बोल्दा उनी थाकेको अनुहारमा स्पष्टै देखिएको थियो । एउटा आलेख लेख्न उनलाई निरन्तर दुःख दिनु उपयुक्त लागेको थिएन । त्यसभन्दा बढी दुःख नदिने विचार गरेँ ।
मैले उनको जीवनकथाको रोमान्चमा भुलेर प्रश्नै गर्न सकिनँ । यो आलेख बिनानिर्देशिका उनले आफ्नो जीवनबारे खिचेको रेखाचित्रको केही अंश मात्रै हो । जे–जे अपुग भए, त्यो मेरो दोष हो ।
०००
उनले लेखेको सबैभन्दा पछिल्लो कविता हो, ‘झन्डा’ । जसमा भूकम्पका बेला राष्ट्रियता हल्लिएकोप्रति उनी चिन्तित छन् ।
पहिलो कविता भने कहिले लेखे, त्यसको शीर्षक के थियो, विषय के थियो, त्यो उनैलाई थाहा छैन । उनलाई यत्ति सम्झना छ कि आफूले लेखेको कवितालाई मिलाइदिएर दाइ हरि भण्डारी (जो अहिले कथाकारका रूपमा परिचित छन्)ले अन्तिममा थपिदिए–
‘हात पोल्यो सिस्नुले
यो कविता लेखेको विस्नुले ।’
उनी तीन कक्षामा पढ्दै थिए त्यतिबेला । दाइ नौमा । जन्मस्थान गुल्मीको धुर्कोट–वस्तुस्थित हिमालय माध्यमिक विद्यालयमा आयोजित कार्यक्रममा उनले त्यो कविता वाचन गरे ।
उनी सम्झन्छन्, ‘कविता भन्दा निकै आत्तिएछु । खिमानन्द पन्थी भन्ने निकै कडा शिक्षक थिए । उनले कार्यक्रमपछि भने, ‘कविता राम्रो छ । तर, यसरी आत्तिएर वाचन गर्ने होइन है !’
कडा भनेर कहलिएका शिक्षकले गरेको प्रशंसाले उनलाई कविता लेख्न उत्प्रेरित गर्यो । कविताप्रति नै टस बसाएको चाहिँ विद्यालयमा हुने कविता–अन्ताक्षरीले हो । त्यसमा जसले धेरै कविता जानेको छ, उसैले जित्थ्यो । उनलाई जित्नुको खुब मोह थियो । दाइले पढ्नुपर्ने पाठ्यक्रममा रहेको नेपाली पद्यसंग्रह भाग एक मौका पारि–पारि पढ्थे । पढ्दै जाँदा भावको गहिराइ पनि बुझ्न थाले । अनि त झन् त्यसले तान्दै जान थाल्यो ।
सात कक्षामा पुगेपछि उनलाई पूर्वगुल्मीका प्रेमनारायण भण्डारीले नेपाली पढाउन थाले । उनी भन्थे, ‘कवि भनेका छुट्टै मान्छे हुन् । अलौकिक मान्छे । महान् मान्छे । जोसुकैले त कविता लेख्न सक्दैन ।’
शिक्षकको कथनले उनको मनमा कविको विराट विम्ब बन्यो । आदर्श विम्ब । स्वप्निल विम्ब । त्यही विम्ब पछ्याई हिँडेका छन् उनी अहिले पनि । त्यसैले उनलाई कविता लेखाइराखेको छ ।
कक्षा सातमा पुग्दा लेखेको ‘फूल’ शीर्षकको कविताचाहिँ उनीसँग अहिले पनि सुरक्षितै छ ।
त्यसैताका उनी कविताकै रसमा लोभिएर रेडियो नेपालबाट प्रशारण हुने कार्यक्रम ‘साहित्य संसार’ सुन्न छिमेकीकहाँ पुग्थे । उनको घरमा रेडियो थिएन । कार्यक्रममा उनले कविता पनि पठाएका थिए । त्यो कविता वाचन पनि भयो रे । उनले त्यसको खबर मात्रै पाए । सुन्नचाहिँ पाएनन् । यस्ता घटनाले उनलाई कविता लेख्न उत्प्रेरित गरिरहे ।
२०२० सालमा जन्मिएका उनको जीवनमा अनेक उतारचढाव आयो । धेरैले उनलाई छाडे, उनले पनि धेरैलाई छाडे । तर, कवितालाई न उनले छाड्न सके, न कविताले उनलाई ।
अहिले सात कविता कृतिका धनी छन् उनी । विद्रोहको छाल (खण्डकाव्य– २०४३), आँधी–तुफान (मुक्तकसंग्रह– २०४४), ब्वाँसाको अन्त्यको खेल (खण्डकाव्य– २०४५), फेरि अर्को तारा खस्यो (कवितासंग्रह– २०६३), देश जागेको बेला (आन्दोलनका कविता– २०६३), उत्सर्ग (महाकाव्य– २०६७) र घाइते ह्विलचेयर (कवितासंग्रह– २०६९) ।
०००
भनिन्छ– दुःखले राम्रो सिर्जना जन्माउँछ । विष्णुलाई कविता लेख्न लगाउने एउटा तत्व दुःख थियो । खान–लाउनको चिन्ताले धुम्मिएको थियो, उनको पारिवारिक आकाश । त्यही चिन्ताले होला, उनका बुबाले व्यापार गर्न साहुसँग ऋण लिए । तर, व्यापारमा घाटा भयो, ऋण तिर्न सकेनन् । त्यसैबेला अर्को दुर्घटना भयो । जायजेथा राखिएको बंगालो (कटेरो)मा आगलागी भयो । त्यसपछि खेत बन्दकी राखेर बुबा पैसा कमाउन भारत छिरे, २०२९ सालतिर । पारिवारिक दुःखकै कारण उनी बल्ल स्कुल भर्ना भएका थिए ।

तर, भारतमा पनि उनको बुबाले खासै कमाउन सकेनन् । केही वर्षपछि बुबाको निर्देशनमा उनी र उनका दाजु पन्जाब गए । त्यतिबेला दाजुले एसएलसी दिएका थिए । उनले चार पास गरेका थिए ।
भारतको पनजाबस्थित एक होटलमा उनले काम पाए । तर, अवर्णनीय दुःख खेप्नुपर्यो । सकी–नसकी काम त गर्नुपर्थ्यो नै । काम नभएका बेला पनि त्यत्तिकै बस्न पाइँदैनथ्यो । ‘कतिसम्म भने केही काम नभए कराइको बाहिर लागेको वर्षौंदेखिको कालो सफा गर्न लगाउँथ्यो’, सम्झदाँ पनि उनको अनुहार अमिलो भएर आयो ।
त्यो दुःखबिच पनि उनले कवितालाई छाड्न सकेनन् । कविता लेख्ने टस बसिनसकेको भए पनि पढ्नचाहिँ खुब पढे । फुर्सद भएपछि पढ्न थालिहाल्थे । घरबाटै दाइको नेपाली पद्यसंग्रह भाग एक बोकेर गएका थिए । त्यहीँ मोतिराम भट्टको ‘पिकदूत’ सबैभन्दा पहिले कण्ठस्थ पारे । जसका पंक्ति उनी अहिले पनि सुनाउन सक्छन् ।
केही समयपछि बुबाले आफ्नै होटल थापे । त्यसपछि तीनैजना आफ्नै होटलमा जोतिए । त्यहाँ उपलब्ध हुने खाली समयमा उनले दाइले बनारसबाट मगाएको रामायण र महाभारत कण्ठस्थ पार्नमा उपयोग गरे ।
०००
भारत बसाइको झन्डै एक वर्षपछि उनी घर फर्किए । त्यसबेला उनले रामायण र महाभारतका धेरै श्लोक कष्ठस्थ पारेका थिए ।
घर फर्केपछि बुबाले खेत निखने । तर, खेतीको दुःख त उस्तै थियो । उनी बिहान बेलुका खेतीको काममा जुट्थे । दिउँसो स्कुल जान्थे । त्यति हुँदा पनि कविताकै बलमा स्कुलमा एकाएक हिरो भएका थिए । अन्ताक्षरीमा उनलाई कसैले भ्याएन । पढाइ पनि राम्रो गर्न थाले । हाजिरीजवाफ र निबन्धमा पनि अब्बल ठहरिन थाले ।
पाँच कक्षामा भर्ना भएका विष्णु स्कुलमा सबैले हाइहाइ गर्ने बने । विद्यार्थी संगठनलाई त्यस्तै विद्यार्थीको आवश्यकता थियो, राजनीति गर्न । अनेरास्ववियुको फेला परिहाले । उनलाई त राजनीतिको भेउ थिएन । तर, रेडक्रस जुनियरको चुनाव हुँदै थियो । पन्चायत पक्षधर त भइहाले, कांग्रेस, माले, मसाल र नेकपा मार्क्सवादी पार्टीको गोप्य संगठन पनि थियो स्कुलमा । उनलाई वामपन्थी पक्षधरले उठाए कक्षा प्रतिनिधिको रूपमा । जिते पनि ।
२०३६ सालको आन्दोलनपछि विद्यालयमा स्ववियु चुनाव हुन थाल्यो । आठ कक्षामा पुग्दा मसाल समर्थक अनेरास्ववियु (छैठौं)ले उनलाई स्ववियु उपसभापतिको उम्मेद्वार बनायो । सम्झन्छन्, ‘त्यसबेलाचाहिँ राजनीतिबारे अलि बुझ्न थालेको थिएँ । आफ्नै टोलका कतिपय माले पक्षधर पाँचौं थिए । मेरो उम्मेद्वारीसहितको पोस्टरिङ गरेको रात डरले सुत्न सकेको थिइनँ ।’
चुनावमा उनको प्यानलले हार्यो । पाँचौंले जित्यो । तैपनि, उनी छैठौं भइरहे । केही समयपछि भएको जिल्ला सम्मेलनमा जिल्ला सहसचिव भए । विद्यालयमा सचिव भए । नौ कक्षामा स्कुलको अध्यक्ष बने । जिल्लाको उपाध्यक्ष ।
१० कक्षा पुग्दा उनी जिल्ला सभापति भइसकेका थिए । राप्ती र लुम्बिनीको दुवै अञ्चल मिलाएर बनाएको क्षेत्रको सहसचिव चुनिए ।
त्यसैबेला उनले राष्ट्रिय सम्मेलनमा काठमाडौं आउने मौका पनि पाए । ताराकान्त पाण्डे त उनका राजनीतिक गुरु नै थिए । टोपबहादुर रायमाझी, विनबहादुर कुवँरलगायत नेता पनि भेटे । निकट बने । उनीहरूसँग भएका पुस्तक लगेर पढ्ने मौका पाए । विनबहादुरसँग त निरन्तर चिठ्ठी आदानप्रदान हुन्थ्यो ।
उनी असाध्यै अन्तर्मुखी स्वाभावका थिए । कतिसम्म भने मान्छेसँग बोल्नुपर्छ भनेर मान्छे हिँड्ने बाटो होइन, गाईवस्तु हिँडाउने बाटो हिँड्थे । तर, राजनीतिमा सक्रिय हुन थालेपछि उनको अन्तर्मुखी स्वभाव बिलाउँदै गयो । संगठन गर्न जिल्लाका विभिन्न स्कुल घुम्न थाले ।
त्यसैबेला स्कुलका प्रधानाध्यापक नरेन्द्र भण्डारीविरुद्ध उनको नेतृत्वमा आन्दोलन भयो । हड्ताल गरे । उनी सम्झन्छन्, ‘उनले भ्रष्टाचार गरेका थिए । विद्यार्थीको सुविधामा ध्यान दिएका थिएनन् । त्यसैले आन्दोलन गरेका थियौं । तर, मेरो नाउँमा प्रहरीको वारेन्ट पुर्जी पो आयो ।’
वारेन्ट पुर्जी आएको डेढ महिनाजति उनी गाउँमा देखा परेनन् । विभिन्न गाउँमा लुकेर बसे । अब त स्थिति साम्य भयो होला भन्ने सोचेर जब स्कुल जान थाले, पुलिसले समातिहाल्यो । पक्रेर तम्घास पुर्याइयो । निकै यातना दिइयो । तर, उनले सोचेको जति चाहिँ होइन ।
‘त्यतिबेला मैले आमालगायत क्रान्तिकारी उपन्यास पढिसकेको थिएँ । कस्तोसम्म यातना दिन्छन् भन्ने अनुमान थियो । त्यसको दाँजोमा कमै यातना दिइएको हो । तर, कम्ती कुटेको होइन । मानसिक यातना पनि उत्तिकै दिन्थे’, उनी भन्छन् । एक हप्ताजति पछिमात्रै उनी त्यहाँबाट छुटे ।
त्यो घटनाले उनलाई राजनीतिमा लाग्न अझ उत्प्रेरित गर्यो । साथै राजनीतिक चेतनाले युक्त कवितामा पनि उनको रस बस्यो ।
०००
राजनीति र कविता दुवैले विद्यार्थीको व्यक्तित्वलाई सहपाठीबिच आकर्षक बनाइदिन्छ । विष्णु भण्डारीको व्यक्तित्व पनि त्यस्तै बनेको थियो विद्यालयमा । त्यसमा पनि २० वर्षे जवान, पातलो–पातलो सुन्दर युवक । बैंशालु उमेरमा प्रवेश गरिरहेका धेरै सहपाठी किशोरीको मन उनले हरेका थिए पक्कै । त्यसमध्ये पनि दुईले असाध्यै पछ्याउँथे ।
त्यो समय सम्झँदा उनी अहिले पनि लजाउँदै भन्छन्, ‘उनीहरूको प्रतिस्पर्धा रहेछ जस्तो लाग्छ अहिले । मेरो घरबाट स्कुल पुग्न दुई मिनेटको दुरी थियो । त्यही पनि बाटोमा पर्खेर बसेका हुन्थे । केही छिन भएपनि कुरा गर्न पाए हुन्थ्यो भन्ने लाग्थ्यो होला ।’
तर, उनले दुवैलाई भाउ दिएनन् । अचम्म ! अचम्म केही थिएन, उनी अरु कसैलाई मन पराउँथे ।
त्यसको कथा भने यस्तो छ–
१० कक्षामै पढ्ने एक किशोरी उनी लागेको संगठन नजिक थिइन्, अर्कै गाउँबाट आफन्तकहाँ बसेर पढ्न त्यहाँ आएकी । कविता पनि लेख्थिन्, पढाइ पनि राम्रो । विष्णु तिनीसँग मनमनै आकर्षित भइरहेका थिए ।
एकदिन उनी नभएका बेला विद्यार्थी संगठनबिच भनाभन र हात हालाहालै भएछ । उनीहरूले तिनलाई पनि गालीगलौज गरेछन् । त्यो कुरा जब उनले थाहा पाए, कविता लेखे । ‘तिमीलाई जे पर्यो, त्यो तिमीलाई मात्रै होइन, हामीलाई नै परेको हो’ भन्ने भावको । कविताले उनीहरूको बिचको दुरी अझ घटायो ।
अब स्कुलको खाली समयमा उनीहरू खेल्न जान छाडे, स्कुलको चउरको एउटा कुनामा एक–अर्काका कविता सुन्न थाले । त्यहाँ भावनाका बात भए, आफ्नै सम्बन्धका कुरा भए ।
स्कुलसमयबाहेक पनि उनीहरू भेट्न थाले । घन्टौं गफिन थाले । कविता र चिठ्ठी आदानप्रदान हुन थाल्यो ।
उनी सम्झन्छन्, ‘प्रेमले मान्छेलाई उत्साहित गर्दोरहेछ । मैले त्यसबेला राजनीतिक भावका साथै प्रेमभावका कविता निकै लेखें । मैले संग्रहकै तयारी गरिसकेको थिएँ ।’
हुँदा–हुँदा त्यो सम्बन्ध एकअर्कासँग नछुट्टिने कसममा पुग्यो । अहिले पनि तिनीले लेखेको ‘म तिमीबिना कुमारी नै बस्छु’ भन्ने कसमी भावको कविता विष्णुसँग सुरक्षितै छ ।
०००
एसएलसीपछि उनी संगठनको काममा खुब खटे । त्यसैबेला ‘विद्रोहको छाल’ खण्डकाव्य पनि लेखिभ्याए ।
उनकी प्रेमिका पनि आफ्नो घर गइन् । तर, बेला–बेला तिनी आफन्तकहाँ आइराख्थिन् । त्यही मौकामा उनीहरू चिठ्ठी आदानप्रदान गर्थे । मौका परे भेट्थे पनि । गाउँमा उनीहरूको सम्बन्ध सार्वजनिक भइसकेको थियो । चिठ्ठी आदानप्रदान गरिदिने भने विष्णुकै बहिनी हुन्थिन् ।
यसरी चलिरहेको सम्बन्ध बर्खा लागेपछि पातलिँदै गयो । तिनी उनको गाउँ आउनेक्रम पातलियो । फोन थिएन ।

एसएलसीको नतिजा आयो । उनी आरआर क्याम्पस पढ्ने भनेर काठमाडौंतिर लाग्ने योजना बनाउँदै गर्दा संगठनका साथीको खबर आयो– बुटवलमा भेटेर मात्रै जानू ।
त्यहाँ विज्ञान सङ्कायमा भर्ना भएँ’, उनले सम्झे ।
बुटवल नै बसेर पढ्न थाले । कलेजमा संगठनले आयोजना गरेको कार्यक्रममा आफ्नो खण्डकाव्यको अंश सुनाएर ताली मात्रै खाएनन्, एकैचोटी लोकप्रिय पनि बने । संगठनमा पनि उनलाई क्षेत्रीय समिति अध्यक्ष बनाउनुपर्छ भन्ने चर्चा चलिरहेको थियो ।
राजनीति र कविताको गति तीव्र भइरहेका बेला उनको प्रेमको गतिमा भने केही सुस्तता आएको थियो । त्यसैले मनमा छटपटी उत्तिकै थियो । प्रेमिकालाई भेट्न नपाएको केही महिना भइसकेको थियो । उनले पठाएको चिठ्ठीको उत्तर पनि आएको थिएन । गाउँ त पहिल्यै हेरेर आएका थिए उनले, तर भेट्न जाने मेसो मिलाउन सकेका थिएनन् ।
एक्कासी एउटा खबर आयो– उनकी प्रेमिकाको बिहे भयो । त्यतिबेला थाहा भयो, उनी कति प्रेममा परेका रहेछन् भन्ने । आफूसँग भएको कुराको उति महत्व अनुभूत हुँदैन मान्छेलाई । तर, त्यो कतै छुट्यो भने, त्यसको छटपटी कति हुन्छ, विष्णुले चरममा भोगे । उनका आँखाले रङ खुट्याउन छाडे । गोडाले बाटो ठम्याउन छाडे । दिमागका तन्तुले काम गर्न छाडे । देख्नेले भन्ने शब्दमा उनी ‘पागल’ भए ।
उनी बुटवल बस्न सकेनन् । राजनीति, कविता र कलेज जीवनलाई एकैचोटी लात हाने । आफ्नो नाम ‘यायावर’ राखे र हानिए भारत । हरिद्वार जान भनेर हिँडेका उनी पन्जाब पुगे । त्यहाँ केही दिन रल्लिएपछि पेटको पिरलो सुरु भयो । मनको पिरलो बोकेरै त्यसको समाधान खोज्न थाले । उनी त्यहाँबाट दिल्ली आए । उनको गाउँबाट त्यहाँ काम गर्न गएका साथीको सहयोगले कहिले ढोके भए, कहिले दरबान । त्यहीं उनले चुरोट तान्न सिके ।
एक ठाउँमा लामो समय बस्न सक्दैनथे । काम फेरिहन्थे । त्यतिबेला पनि उनले कवितालाई भने छोड्न सकेनन् । कहिले विरहका र कहिले क्रान्तिकारी भावका कविता लेखे । जुन अहिले पनि उनीसँग सुरक्षित नै छन् ।
‘त्यतिबेला मेरो संसार सकियो भन्ने लागेको थियो मलाई । एकअर्कालाई नपाए बिहे नगर्ने वाचा त पहिलेकै थियो । म त्यसमा दृढ थिएँ ।’ उनी सुस्केरा हाल्दै सुनाउँछन् । उनलाई अहिले लाग्छ– आफू गरिव भएकै कारण त्यो वियोग भोग्नुपरेको हो ।
त्यो प्रेमको ‘ह्याङ्ओभर’ले उनलाई झन्डै छ वर्ष गाँज्यो । उनलाई लिन बुबा गए, आएनन् । बुबाले उनलाई दिल्ली छोडेर आए । पछि त्यहाँ पनि बस्न मन लागेन उनलाई । पोखरा पुगे । दाइलाई जागिर लगाइदिन भने । दाइले धादिङमा शिक्षकको जागिर लगाइदिए ।
झन्डै एक वर्ष त्यहाँ बसे । त्यहाँ पनि उनी छटपटाइरहे । बुढीगण्डकीको किनारमा पुगेर टोलाउँदै चुरोट तान्नु वा तीनपानेको तालमा साथीहरूलाई वेदना कहनु उनको स्कुले समयबाहेकको दैनिकी हुन्थ्यो ।
त्यहाँबाट उनी काठमाडौं आए । गार्मेन्टमा सहलेखापालको काम पाए । तर, केही समयपछि नै त्यो गार्मेन्ट बन्द भयो । त्यसपछिका केही दिन उनले काठमाडौंमा भोकभोकै रात बिताए । डिप्रेसन र स्वाभिमानको संगमले उनलाई कतिदिन कोठामै बन्द गरेर राख्यो । गार्मेन्टमा काम गरेकै समयमा उनले लोकसेवा दिएका थिए । नाम निस्कियो मुखिया पदमा । पाइनियर गणमा उनको पोस्टिङ भयो । जागिर खाँदै पढ्न पनि थाले आरआर कलेजमा । संगठनमा जोडिए फेरि । स्ववियु चुनाव हुने भयो । चुनावमा उठ्न जागिर छोड्नुपर्ने भयो । राजीनामा गरे । तर, चुनाव हारे ।
यता, राजीनामा स्वीकृत नहुँदै खरिदारमा नाम निस्कियो । पोस्टिङ नापी विभाग, धादिङमा भयो । त्यसबेलाचाहिँ उनी प्रेमको ह्याङबाट केही मुक्त हुँदै गएका थिए । त्यही मेसोमा त्यहाँ उनले १० कक्षामा पढ्ने एक किशोरीलाई मन पराए । दुईचार पटक बात पनि मारे । झन्डै प्रेम जस्तो भएको थियो ।
तर, अफिसमा लफडा पर्यो । अफिसको साप्ताहिक बैठकमा उनले हाकिमले पैसा लिन किसानको फाइल रोक्न खोजेको कुरा खुलासा गरे । ‘एक हिसाबले भङ्जाहा र रिसाहा भएको थिएँ म । त्यसमाथि मलाई भ्रष्टाचार गर्नेप्रति पहिल्यैदेखि असहिष्णु थिएँ । त्यहाँ कागजात मिलाएर ल्याएका किसानको पनि पैसा खान फाइल अड्काइदिन्थे । मलाई त्यो पचेन’, उनी सम्झन्छन् । त्यही निहुँ बनाएर उनलाई काजमा काठमाडौं तानियो ।
काठमाडौं आउनु केही अघि उनी मन पराएकी किशोरीलाई माग्न पनि गएका थिए । तर, एसएलसी दिएपछि मात्रै बिहे गर्ने भन्ने कुरा किशोरीको परिवारबाट आएपछि त्यसको किस्सा त्यत्तिकै खत्तम भयो ।
केही समयमै २०४६ सालको आन्दोलन सुरु भयो । उनी हाजिर ठोकेपछि आन्दोलनमा हिँड्थे । त्यो थाहा पाएर हाकिम बुद्धिनारायण श्रेष्ठले भने, ‘कि आन्दोलन कि जागिर रोज । नत्र, विभागीय कारबाही हुन्छ ।’ उनले जागिरलाई बाइबाइ गरे र राजीनामा ठोके । दाइले कति सम्झाउँदा पनि मानेनन् ।
‘त्यतिखेर त्यो जागिर ठूलो कुरा थियो । तर, मलाई केहीको मतलब थिएन । मलाई कुनै कुराको मोह नै जाग्दैनथ्यो’, उनी सम्झन्छन् ।
उनी २०४६ साल चैत ३ को स्रष्टा आन्दोलनदेखि चैत २४ को आन्दोलनसम्मै सहभागी भए । त्यसपछि भने उनको जीवनले अलिकति नयाँ मोड लियो । उनका दाइ हरि भण्डारीले भोटेबहालमा किराना पसल सुरु गरे । उनले त्यहीं सघाउन थाले ।
पछि उनी आफैंले स्टेसनरी सुरु गरे, पकनाजोलमा । स्टेसनरी चल्दै गयो । उनी व्यस्त हुँदै गए । अनि हितैषीले पनि ‘अब त साथी चाहिन्छ है’ भन्न थाले । उनीलाई पनि ‘हो रैछ’ भन्ने अनुभूति हुँदै गयो । २०४८ साल वैशाख महिनामा उनले नेतृ पम्फा भुसालकी काकाकी छोरी पार्वतालाई जीवनसाथी बनाए । ‘त्यो प्रेमविवाह त थिएन, तर प्रगतिशील विवाह थियो’, उनले उमेरका सबै प्रेमकथा बिट मार्दै विवाहको समय सम्झिए, ‘संगठनकै पहलमा नाचगान गरेर कार्यक्रममा विवाह गरिएको थियो ।’

त्यसपछि उनको प्रेमिल संसार सुरु भयो । जीवनले लय समात्यो । काठमाडौं आएर केही समय स्टेसनरी गरे । त्यसपछि दाइकै पसल किनेर चलाए ।
उनी भन्छन्, ‘२०४१ सालदेखिको २०४७ सालसम्मको अवधिचाहिँ मेरो उद्देश्यहीन यायावरीय रह्यो । मैले गल्ती गरेको थिएँ, त्यो बेला । त्यसरी नहिँड्नुपर्थ्यो । पछि हुँदै जाँदा धारणा बदलियो । कहिल्यै बिहे गर्दिनँ भन्ने भावुक निर्णय गरेको थिएँ । तर, पछि व्यवहारले मन बदलिदियो ।’
त्यो ‘यायावरीय’कालमा पनि उनले कविता लेख्न भने छाडेनन् । त्यसैबिच, साथीहरूको आर्थिक सहयोगमा तीन कृति प्रकाशन गरे । एस वि विवेकका नाममा । बरु, पत्रपत्रिकामा प्रकाशित गर्न भने उति जोड गरेनन् । आफैं संलग्न भएको जीवन शर्मा सम्पादक रहेको ‘हलकारा’ र अर्को पत्रिका ‘गोरेटो’मा मात्रै उनका कविता प्रकाशित छन्, त्ससबेला ।
त्यस बिचमा उनी राजनीतिमा पनि सक्रिय भइरहेका थिए, पातलो मसालसँग आबद्ध रहेर । तर, मन लगाएर सांगठिनक काम गर्न सकेनन् । त्यसैले पदीय हैसियत पनि प्राप्त गरेनन् । लेखनमा सक्रिय भएका कारण त्यसै क्षेत्रको जिम्मेवारी दिइएको थियो । त्यही जिम्मेवारी पनि प्रगतिशील लेखक संघसँग सम्बन्धित घटनाका कारण चित्रबहादुर केसीसमक्ष गएर त्यागेको घोषणा गरे ।
०००
किराना पसलमा सपरिवार व्यस्त हुन थालेपछि उनको जीवन लयबद्ध हुन थाल्यो । लयमा उतार हुन्थ्यो आनन्दको, चढाव हुन्थ्यो दुःखको । तर, दुवै मिलेर लय निर्माण गर्थे । ‘दुःख पनि अति गरियो । अझ पार्वताले त ज्यादै दुःख झेल्नुपर्यो । बच्चा, पसल र भान्सा सबै सम्हाल्दा उनको हालत खराब हुन्थ्यो । तर, पैसा पनि राम्रै कमाइयो । त्यही पैसाले काठमाडौंमा घर जोडियो । एउटा छोरा र दुई छोरीलाई पढाइँदैछ’, उनी भन्छन् ।
२०५७ सालमा उनले कोटेश्वरमा घर बनाए । अर्को साल पसल पनि त्यतै सारे । त्यिस बिचमा उनी तत्कालीन नेकपा (माओवादी) सँग नजिक भएका थिए । संगठित थिएनन्, तर उनको घरमा आउजाउ बाक्लै हुन्थ्यो । डा. बाबुराम भट्टराई, टोपबहादुर रायमाझी, राम कार्की, पम्फा भुसाल, भरत दाहाल, मणि थापा, देवेन्द्र पौडेललगायतसँग राम्रो सम्बन्ध थियो ।
साहित्यिक कार्यक्रममा पनि यदाकदा हिँड्थे । कृष्ण सेन इच्छुकसँग राम्रो सम्बन्ध थियो । ‘कलम’ साहित्यिक त्रैमासिक प्रकाशनमा सघाउन सेनले गरेको आग्रह उनी अहिले पनि सम्झन्छन् । तर, उनलाई २०५९ सालको जेठ महिनाको तेस्रो साता जनआस्थामा प्रकाशित समाचारले झस्कायो । त्यहाँ उनको प्रिय साथी सेनको हत्या भएको खबर थियो । त्यसले उनलाई आहत बनायो । उनले कृष्ण सेनले भनेको सम्झिए, ‘हेर्नुस् विष्णुजी, सबै कविता राम्रा हुँदैनन् । संग्रहमा केही कविता राम्रा हुन्छन् । त्यसमा पनि केही हरफ राम्रा हुन्छन् । त्यसैले निराश भएर लेख्न नछाड्नुहोस् । हामीले आफ्ना लागि लेख्ने होइन, समाजका लागि लेख्ने हो ।’
त्यसपछि उनलाई लाग्यो– अब पैसामात्रै कमाएर हुँदैन । लामो जीवन त त्यसको हुन्छ, जसले समाजलाई पनि योगदान दिन्छ । साहित्य मैले हिँड्न सक्ने त्यस्तो बाटो हो ।
उनले सेनको सम्झनामा कविता पनि लेखे– फेरि अर्को तारा खस्यो । सँगै लेखनमा सक्रिय हुने योजना बनाए । बिस्तारै व्यापार जीवनसाथीलाई जिम्मा लगाए । बच्चा हुर्किसकेका थिए । उनी भने साहित्यिक कार्यक्रममा हिँड्न थाले ।
‘म त्यतिबेला भूमिगत भएर हिँड्न पनि तयार भएको थिएँ । तर, संकटकाल लागेपछि पार्टीको अरु सम्पर्क टुटेको थियो । सेनसँग सम्पर्क हुन्थ्यो । उनको हत्या भएपछि अरुसँग सम्पर्क हुन सकेन । त्यसैले लेखनमा चाहिँ आफूलाई सक्रिय पारें’, उनी भन्छन् ।
उनले सेनको सम्झनामा लेखेको कवितासहितको संग्रह ‘फेरि अर्को तारा खस्यो’को तयारी गर्दै गर्दा दोस्रो जनआन्दोलन सुरु भयो । त्यसमा उनी खुब सक्रिय रूपमा सहभागी भए । दैनिक आन्दोलनमा जान्थे, कविता भन्थे । बेलुका कविता लेख्थे । आन्दोलन सकिँदा अर्को कवितासंग्रह तयार भएको थियो– जनता जागेको दिन ।
जेठ १९ गते नेकपा (माओवादी) सार्वजनिक भएको कार्यक्रममा डा. ऋषिराज बराल र ईश्वरचन्द्र ज्ञवालीको बीचमा बस्न पुगेका उनलाई धेरैले जनयुद्ध लडेर आएकै लेखक सम्झिए । त्यतिबेला ज्ञवालीले उनलाई भनेका थिए, ‘ल है, अब संगठनमा बसेर काम गर्नुपर्छ ।’ उनी पनि उत्साहित थिए । उनले ‘हुन्छ’ भने ।
असार १३ गते माओवादीनिकट जनसांस्कृतिक महासंघले आयोजना गरेको कार्यक्रममा उनको नाम पनि संगठनमा प्रवेश गर्नेको नामावलीमा वाचन गरियो । त्यसपछि उनी आधिकारिक माओवादी बने ।
उनको माओवादी यात्रा महासंघको कार्यालय सचिव, केन्द्रीय सदस्य, केन्द्रीय सचिवालय हुँदै हालसम्म जारी छ ।
यसबिच पनि उनले कविता यात्रा जारी राखे । अब भने पत्रिकामा प्रकाशनको गति पनि बढ्यो । २०६३ सालमै दुई कवितासंग्रह प्रकाशित भयो । २०६७ मा महाकाव्य र २०६९ मा घाइते ह्विलचियर कवितासंग्रह ।
उनको संगठनमा खटाइ पनि असाध्यै बढ्यो । संगठनकै काममा मात्र भेटिइरहने धेरैले उनलाई कवि भनेर कम चिने, माओवादी नेता–कार्यकर्ताको रूपमा ज्यादा । उनी भन्छन्, ‘म माओवादी नै हुँ । यसमा लुकाउनुपर्ने कुरा केही छैन । तर, मेरो राजनीतिक परिचयले साहित्यिक छविलाई किचेको अनुभूतिचाहिं गरेको छु । म कवि भएकै कारणले माओवादीको सांस्कृतिक संगठनमा छु, वामपन्थीको साझा संगठन प्रगतिशील लेखक संघमा छु ।’
तर, उनी कुनै पनि लेखक पार्टीको विशुद्ध राजनीतिक कार्यकर्ता मात्रै नहुने उनको भनाइ छ । ‘कवि आलोचक हुनै पर्छ । विशेषतः जनताको पक्षमा उभिएर उसले सत्ताको आलोचना गर्छ नै । सत्तामा आफ्नै पार्टी पनि पुगेको हुन्छ कहिलेकाहीं । त्यसबेला कवि आफ्नै पार्टीको आलोचना गर्न पनि पछि पर्नुहुँदैन’, उनको तर्क छ ।
उनी आफूमा चाहिँ कत्तिको लागू भएको छ उनको तर्क ? कडा जवाफ दिए उनले, ‘मेरो कविता त्यसका उत्तर हुन् । अब आउने मेरा अरु विधाका रचनामा पनि त्यसको उत्तर आउँछ । यत्तिचाहिँ म दावाका साथ भन्न सक्छु कि पार्टीमा नम्बर घट्ला भनेर मैले आफ्नो आलोचनात्मक चेतमा सम्झौता गरेको छैन र गर्ने छैन ।’
यही उत्तरमा कत्तिको खरो उत्रिरहन सक्छन्, त्योचाहिँ हेर्न बाँकी नै छ । तर, उनलाई विशुद्ध राजनीतिक कार्यकर्ताको रूपमा मात्रै हेर्ने दृष्टिकोणमाथि चाहिँ उनले दिएको खुला चुनौती नै हो यो ।
०००
उनी कविता लेख्ने मात्रै होइनन्, कविता लेख्नेकै भए पनि संगठन चाहिन्छ भन्ने स्वभावका हुन् । सानैदेखि संगठनको शक्तिको स्वाद चाख्दै आएकाले पनि हुन सक्छ, उनमा संगठनको खुब मोह छ । पछिल्लो राजनीतिक अस्तव्यस्ताले पार्टी सांस्कृतिक संगठन चाहेजस्तो सक्रिय हुन नसकेपछि उनले ‘अभिज्ञान आन्दोलन’ सुरु गरे । उनकै भाषामा त्यसमा सुझबुझ पुगेन । ‘पहिलो त नाम नै सबैमाझ भिज्न सकेन । अर्को कुरा, दृष्टिकोण पनि उपयुक्तमात्रामा समयसापेक्षिक हुन सकेन । त्यसैले त्यो त्यत्तिकै निस्क्रिय भयो,’ उनी स्वीकार्छन् ।
त्यसको असफलतापछि उनी ‘काव्यशिविर अभियान’मा बनाएका छन् । अभियानबारे उनको मत छ, ‘योचाहिँ मेरोमात्रै नेतृत्वको अभियान होइन । यसमा जति पनि अभियन्ता छन्, सबैको नेतृत्व समान हुन्छ । त्यसैले हामीले पहिलो चरणमा यसको कुनै सांगठनिक संरचना बनाएका छैनौं ।’
अर्को महत्वपूर्ण कुरा, यो अभियानमा उनी संलग्न पार्टी वा संगठनको न नीति चल्छ, न निर्देशन । उनी भन्छन्, ‘यो अग्रगामी सिर्जनाका पक्षधर सम्पूर्ण लेखकको अभियान हो । यसमा विभिन्न पार्टीका विचारसँग सहमत साथीको संलग्नता छ । सामूहिक प्रयत्नले साहित्यमा अहिलेको अवस्थाको सिर्जनात्मक क्रमभंग गर्नुपर्छ भन्ने यसको मान्यता छ । सांस्कृतिक सचेतता, पहिचान र मौलिकताको खोजीबाट नै त्यो सम्भव हुन्छ भन्ने हाम्रो सोच हो ।’
त्यसो त उनको पारिवारिक प्रकृतिको साहित्यिक संगठन पनि छ– नेपाली साहित्य घर । यसलाई भने उनले साहित्यको क्षेत्रमा आफू र आफ्नो परिवारले दिनसक्ने योगदानलाई संस्थागत गर्न प्रयोग गर्ने जमर्को गरेका छन् । जसले साहित्यिक वेबसाइट नेपाली साहित्यघर डट कम सञ्चालन गरिरहेको छ ।
०००
जीवनको चार दशक समय विष्णुले कविता, कविता, कवितामात्रै लेखे । तर, जीवनको पाँच दशक कटाइसकेपछि उनको मन आख्यानतिर बरालिन थालेको छ ।
केही साताअघि मात्रै उनको कथा ‘नागरिक’ दैनिकको शनिबारीय अंकमा प्रकाशित भयो । केही अप्रकाशित कथा सन्चय भइसकेको छ, उनको ल्यापटपको फोल्डरमा । त्यति मात्रै कहाँ हो र ? उनको ल्यापटपमा अहिले एउटा नयाँ फोल्डरले जन्म लिएको छ । त्यसमा करिब ७० हजार शब्दको उपन्यासलाई अन्तिम रूप दिइरहेका छन् ।
‘कविज्यूमा किन यत्रो आख्यानमोह बढेको ?’ मेरो मनले एउटा प्रश्न जन्माउन खोजेको पहिल्यै चाल पाएर उनले उत्तर दिए, ‘कविता र उपन्यासले पार्ने प्रभाव फरक हुन्छ । उपन्यासको फलक बृहत् हुन्छ । यसले समाजिक जीवनको सम्पूर्ण ढंगले चित्रण गर्न सक्छ । कविताले मानिसको अन्तर्हृदयको अनुभूतिलाई कलात्मक अभिव्यक्ति दिन्छ । त्यसैले कविताले अभिव्यक्त गर्न नसकेको कुराका लागि आख्यान लेख्दै छु ।’
उनी दसैं अगाडि नै उपन्यास सार्वजनिक गर्ने सुर कसेर लागेका छन् । उपन्यास पुनर्लेखनका लागि दिनरात कुर्सीमा बस्दा सुन्निएका गोडा उनले देखाउँदै गर्दा मैले उनलाई सफलताको शुभकामना दिएँ । र, अन्तिममा सोधिहालें, ‘तपाईंको पारा देख्दा त अबको यात्रा आख्यानतिर मात्रै हो किझैं लाग्यो त ?’
उनले आफ्नो ब्रान्डेड हाँसो हाँस्दै भने, ‘त्यस्तो त होइन । कविता लेख्न त म किन छाड्न सक्थें र ? त्यस्तो बेलामा त छाडिनँ ।’ उत्तरपछिको हाँसोमा चाहिँ थोरै नोस्टाल्जिया मिसिएको आभाष हुन्थ्यो ।
***
http://ekabita.com