हिरादेवी नाम कसले राखिदियो, हिरादेवीलाई नै थाहा छैन । थाहा होस् पनि कसरी ? सायद बाउले राखिदिएको हुनुपर्छ यो नाम । पण्डितले राखिदिएको पनि हुन सक्छ । जसले राखिदिएको भए पनि उनलाई चिन्नेहरू यही नामले चिन्छन् । यही नामले बोलाउँछन् ।
हिरादेवीको उमेर चारबिस नाघ्यो । उमेरले उनी आरामले बस्नुपर्ने हो, तर उनलाई आराम पटक्कै छैन । उमेर बढ्दै गएपछि आँखाको ज्योति पनि कमजोर भयो । शरीरमा तागत पनि हरायो ।
कहिलेकाहीँ लाग्छ उनले जे भोगिन त्यो सबै सपना थियो । यतिका उमेर बाँचे पनि उनले जीवनमा सुख भने पाइनन् । बाउ सानैमा मरे । घरकी जेठी छोरी, आमाको सहारा उनी नै थिइन् । उनैको बलबुतामा घर नियमित भयो ।
घरमा आएपछि पनि सुख पाइनन् उनले । झनक्क रिसाउने लोग्नेको कुटाइ र सासुको बुहार्तन सहिन् । कहिलेकाहीँ सोच्थिन् माइती सम्पन्न भएका भए सायद यतिसाह्रो हेपाइ खानुपर्ने थिएन । उनले भाग्यलाई दोष दिनुको विकल्प थिएन । फेरि गाउँघरमा सबैतिर उस्तै थियो । बुहारीलाई नटोकसने सासु र नपिट्ने लोग्ने एकाध मात्र भेटिन्थे ।
यो सबै त उनले सहेकै थिइन् । तर उनलाई सन्तान भएनन् । यो सबैभन्दा पीडादायी अवस्था थियो । एकातिर बाँझीको उपनाम र अर्कोतिर सौताको पिरलो, उनी जवानीमै दुब्लाएर खर्लप्प भइन् ।
सासु हुँदा त मिठोनमिठो खान पाएकै थिइन् । तर सौताको हातमा तालाचाबी पुगेपछि उनको जीवन मरेतूल्य भयो । अब उनीसँग यही दुःखद् र अवसादपूर्ण जीवन बाँच्नुको विकल्प थिएन ।
उनी आँसु पिएर बाँचिन् ।
‘के गर्ने हजुर मर्न सकिदो रैनछ त !’ उनले सुस्तसुस्त भनिन् ।
केहीबेर बोलिनन् उनी ।
क्यार्नु त सधैँ रोएर पनि भैन । बिस्तारै बानी परो ।’ उनले थपिन् ।
पहिले पहिले त लोग्नेको मात्र कुटाइ खानुपथ्र्यो । पछि सौताले पनि कुट्न थाली । एकफेर त मर्छु भनेर हिरादेवी पासो लगाउने सुर कसिन् । तर उनलाई मर्न पनि डर लाग्यो ।
नामले हिराकी देवी भए पनि उनी किरा जस्तै बनेर बाँच्न बाध्य भइन् । पछि सौता र छोराछोरी लिएर लोग्ने मधेश झ¥यो । मधेश झर्दा गाउँको राम्रो जग्गाजमिन बेच्यो । उनलाई गरीखानका लागि बारीका केही सुर्का छोडिदिए ।
केही दिन त उनलाई एकलो महसुस भयो । पिटे पनि टोकसे पनि लोग्ने, सौता र छोराछोरीको नियास्रो लाग्यो । तर बिस्तारै बानी प¥यो । त्यसपछिका दिन अलि सहज भए । आफ्नो उत्पादन त के नै हुन्थ्यो र बाँच्नका लागि अरूकोमा काम गर्नुपथ्र्यो । ढिकीजाँतो, मेलापात गर्दै यति लामो समय गुजारिन उनले ।
अहिले त्यो कष्टपूर्ण विगत सम्झिँदा पनि उनलाई कस्तो कस्तो लागेर आउँछ । सपना जस्तै लाग्छ कहिलेकाहीँ त । अब त हातखुट्टा पनि चल्न छोडे । न मेलापात गर्न सक्छिन् न आफ्नै जग्गामा काम गर्न सक्छिन् ।
‘क्यार्नु हजुर यही सरखारी पैसोले मुखमा माड हाल्छु ।’ उनले वृद्धभत्ताको प्रसङ्ग उठाउँदै भनिन्, ‘अलि बढाउने भन्दैछन् रे ! बढाए हुन्थ्यो नि !’
यसरी बोल्दा उनको अनुहारमा अलिक खुसी देखियो ।
उनलाई जीवनको सुख कस्तो हुन्छ थाहा छैन । मान्छेहरू देशविदेशको कुरा गर्छन्, उनी भने सदरमुकामभन्दा टाढा पुगेकी छैनिन् । सदरमुकाम पनि एकपल्ट नागरिकता बनाउन गइन्, अर्कोपल्ट दवाई गर्न ।
लामो जीवन यति नीरश तरिकाले बित्न सक्छ भन्ने कुरा अहिलेको पुस्ताले सोच्न पनि सक्दैन । उनलाई मिठो कस्तो हुन्छ भन्ने पनि थाहा छैन । रमाइलो भनेको के हो भन्ने पनि थाहा छैन । यो सबै थाहा छैन भन्छिन् उनी । गाउमा हुने विवाह, तिज र दशैँ जस्ता चाडपर्वमा हुने नाचगान र रमाइलो मात्र उनलाई थाहा छ । आफैलै कहिल्यै रमाइलो गरिनन् । भन्छिन्, ‘खै बाबु ! रमाइलो कस्तो हुन्छ थाहै छैन ।’
‘दुःखैदुःखमा बित्यो बाबु यतिका वर्ष । भगवानले पनि हेरेनन्’, उनले निराश हुँदै थपिन्, ‘अब त मर्न पाए नि हुने ।’
काल नआएकोमा भने उनलाई अलि रिस रहेछ । कालले भर्खरका मान्छे लग्दा म बुढीलाई किन नलेको होला भन्छिन् उनी ।
उनका गुनासा अरू पनि छन् । तर प्रस्ट भन्न सक्दिनन् । भन्नु छ भन्छिन् । कसलाई भन्नु छ भन्दा भगवानलाई भन्छिन् ।
सायद, जीवन यसरी उजाड भएकोमा भगवानसँग गुनासो गर्नु छ होला । तर ती प्रश्नहरू मनभित्रै गुम्स्याएर राखेकी छिन् । नपढेकी उनले कसैलाई सोध्न पनि त सक्दिनन् जीवनको सुख कस्तो हुन्छ । र, भगवान छ छैन भन्ने पनि केही थाहा छैन उनलाई ।
दश वर्ष पहिले दोलखामा भेटिएकी हिरादेवी भगवानकी प्यारी भैहोलिन् कि जीवितै होलिन् ? म अहिले पनि उनलाई सम्झिरहेको छु ।
(२०७८)