अहिले पनि पुरातन युगमा बाँचेको म

हामीले विकास केलाई मान्ने ? म अलमलमा परेको छु । समाज परिवर्तन केलाई मान्ने ? झनै दिग्भ्रमित भएको छु ।

जिन्दगीभरि समाज परिवर्तन भनेर हिँडियो । राजनीतिक परिवर्तनसँगै सामाजिक परिवर्तन पनि हुन्छ भनियो । तर अहिले आएर सोच्छु त्यो त फगत कल्पना रहेछ नि हौ ।

राजनीतिक परिवर्त त भयो नि ! भएन र ! राजतन्त्र ढल्यो, सामन्तवादले घुडा टेक्यो र गणतन्त्र आयो तर के समाज परिवर्तन भयो ?

यो प्रश्नले मलाई कोतरिरहन्छ ।

साथीहरू भन्छन् तैँले भने जस्तो कहाँ हुन्छ ? हो नि मैले भने जस्तो नहुन सक्छ । त्यसो भए कसले भने जस्तो हुन्छ त ! पक्कै पनि यहीँनेरि समस्या छ । परिवर्तनलाई बुझ्ने यही समस्याका कारण हामी पछि परेका हौँ ।

साथीहरू वैज्ञानिक समाजवादको कुरो गर्छन् तर समाज पुरातन युगमै बामे सर्दै छ । कहाँबाट आउँछ होलो त्यो समाजवाद ।

एक वर्ष अघि जाजरकोटमा जातका आधारमा सात जना युवाको नृशंस हत्या गरियो । ल हत्या गर्नेहरू त पुरातनपन्थी, विचारहीन र हत्यारो मनोवृत्तिका भए रे ! तर उनलाई बचाउन लाग्नेहरू त समाजवादी थिए नि हैन र ! दश वर्ष जनयुद्ध लडेर आएका नेता कार्यकर्ता थिए नि !

हालसालै दलित भएकै कारण काठमाडौंमा रूपा सुनारले कोठा भाडामा पाइनन् । यस घटनाले पनि प्रशस्तै चर्चा पायो । जात व्यवस्थाको बहस फेरि सतहमा आयो । कतिपयले कोठा भाडामा दिने वा नदिने घरबेटीको अधिकार हो भने । कतिले जातकै आधारमा उनलाई अपमानित गरिएको भने ।

निश्चय पनि आफ्नो घरसम्पत्तिको हकअधिकार हकदारकै हुन्छ । तर यसो भन्दै गर्दा अरूलाई अपमानित गर्न उसलाई छुट कसरी हुन्छ ? कसरी अहिलेको समाजमा जात तल्लो भएकोले कोठा भाडामा दिन नसक्ने भन्न सक्छ कसैले ? त्यो पनि काठमाडौं सहरमा ।

पीडक भनिएकी महिलालाई स्वयम् शिक्षामन्त्रीले आफ्नै गाडीमा राखेर ससम्मान लिएर जानु, साहित्यकार, प्रध्यापक र कलाकारदेखि राजनीतिज्ञहरूले घटनालाई अति सामान्य रूपमा लिनुले के देखाउँछ भने व्यवस्था बदलिए पनि हामी बदलिएका छैनौँ । राजतन्त्र ढले पनि सामन्तवाद ढलेको छैन ।

कस्तो सोच लिएर बाँचेका रहेछौँ हामीहरू ! अहिले पनि जातका आधारमा कसैमाथि उत्पीडन हुन्छ । हामी स्वयम् उत्पीडक हौँ र हामीले उत्पीडनविरुद्ध कानुन बनाउँछौँ । कानुन बनाउने पनि हामी लागु गर्ने पनि हामी । अनि कसरी हुन्छ परिवर्तन ? विरालोको हात सिद्राको नासो पठाएपछि त्यो सम्बन्धित ठाउँमा पुग्दैन भन्ने थाहा छ हामीलाई । तर पनि हामी त्यही गरिरहेका छौँ ।

दलितको भावनामाथि राजनीति गर्ने पनि छन् । दलित मुद्धालाई बेचेर डलर कमाउने पनि छन् । दलितको नाममा सम्पन्न दलितले कोटा हत्याएको पनि छ । तर यसैलाई कारण देखाएर दलितलाई संरक्षण अफापसिद्ध भयो कसरी भन्न सकिन्छ ?

बहसमा जे देखियो त्यो डरलग्दो थियो । एउटा दलितलाई गरिब बाहुनसँग तुलना गर्नु कुनै मानेमा पनि तर्कसंगत हुन सक्दैन । संरक्षण किन र कुन प्रयोजनका लागि गरिएको छ भन्ने नबुझी संरक्षणको विरोध गर्नेहरू पनि देखिए । तर उनीहरूले यो बुझेनन् कि काठमाडौंको सम्पन्न परिवारको आहुतिले दलितको मुद्धा किन बोकेर हिँड्छ र किन दुरदराजको गरिब बाहुनले बोक्दैन । खुकुरीको मार अचानोलाई नै थाहा हुन्छ ।

सदियौँदेखि अपमान र दलन सहेर आएको दलितको आर्थिक अवस्था जति नै माथि भए पनि ऊ सामाजिक रूपमा तल नै हुन्छ । तर त्यही ठाउँमा जति नै गरिब भए पनि सामाजिक हैसियत बाहुनको धेरै उच्च हुन्छ । मैले दलित मुद्धाको विषयमा बहस गर्न लागेको हैन । यसमा मैले के नै बहस गर्न सक्छु र ! यत्ति हो मभित्र रहेको वैचारिकीले दलितको नाममा कसैमाथि उत्पीडन गर्न पाइँदैन भन्छ । तर आखिर म बाहुन हुँ ।

मैले बहस गर्न लागको त म कस्तो पुरातन युगमा बाँचेको रहेछु भन्ने हो । हुन त यो मलाई मात्र पनि लागेको हुन सक्छ । धेरैलाई यो समाज अत्याधुनिक समाज लाग्न सक्छ । अझ परिवर्तन, सूचना र प्रविधिले समाजलाई भाँडेको, तहसनहस गरेको पनि लाग्न सक्छ । उनलाई लाग्यो भन्दैमा मलाई पनि लाग्नुपर्छ भन्ने छैन ।

जनै लगाउनेले जनैको महिमा गाउँछ भन्दैमा म जनै लगाउन सक्दिनँ । म कर्मकाण्डमा विश्वास गर्न सक्दिनँ  । मलाई यो सबै बेमतलको ढोँग हो भन्ने लाग्छ ।

मलाई क्षोभ यो कुरामा छ कि म किन अझै अडभाङ्गे हुन सकिनँ ? म किन अराजक र विद्रोही हुन सकिनँ ? जुन संरचनालाई भत्काउनुपथ्र्यो त्यही नभत्काई कसरी हुन सक्छ सामाजिक परिवर्तन ? कसरी हुन सक्छ सांस्कृतिक रूपान्तरण ।

मलाई भत्काउनु छ र सोध्नु छ, महासय ! हामीले भोगेको समाज आधुनिक हो कि पुरातन खिचडी समाज ?

(२०७८)


  प्रकाशित मिति : २६ चैत्र २०७८, शनिबार ०९:१९