तेरो घरमा कांग्रेस पसोस

आजभन्दा साठी वर्ष पहिलोको कुरो हो । गाउँमा कांग्रेस आयो । कांग्रेस आउनुको अर्थ के थियो यो त सबैलाई थाहा थिएन । त्यसो त कांग्रेस सात सालमा पनि आएको थियो र पन्ध्र सालमा पनि आएको थियो । त्यतिखेर अहिले जस्तो हल्ला भएन ।

सात सालमा त आयो आयो भन्ने मात्र सुनियो । गाउँमा नआउँदै उतैउतैबाट सहर फर्किएको थियो । पन्ध्र सालमा भने नेताहरू गाउँ गाउँ आए । चुनाव प्रचारप्रसार गरे । रुखमा भोट हाल्न जनतालाई आह्वान गरे । पहिलो पल्ट भोट हाल्ने संस्कृति बोकेर कांग्रेस गाउँमा आएको थियो । कांग्रेस मात्र आएको थिएन उसको पछिपछि कम्युनिष्ट पार्टी पनि आएको थियो ।

अहिले भने कांग्रेस आउने कुरोले गाउँमा सन्त्रास फैलिएको थियो । ठुलाबडाहरू आत्तिएका थिए । पहिले पहिले राजालाई सत्तामा ल्याउन गरेको थियो कांग्रेसले आन्दोलन । पन्ध्र सालमा जनप्रतिनिधि चुन्नका लागि गाउँ आएको थियो । अहिलेको गाउँ आगमन भने अलि फरक थियो ।

२०१७ साल पुस एक गतेको शाही घोषणापछि कांग्रेस सत्ताच्युत भएको थियो । जनताका अधिकार फेरि दरबारमा केन्द्रित भएका थिए । हुन त यसले गाउँमा के नै फरक परूर्यो र ! बहुदल आए पनि नआए पनि गाउँमा तात्विक फरक परेको थिएन । गाउँको अवस्था उस्तै थियो । दुःख र उत्पीडन उस्तै थियो ।

तर अन्तर्यमा त्यस्तो थिएन । प्रजातन्त्र हुनु र नहुनुमा फरक हुन्थ्यो नै । अशिक्षित गाउँलेहरूलाई यसबारे जानकारी नभए पनि, गरिब किसानहरूलाई यसको अर्थ थाहा नभए पनि अलिक सचेत, पढालेखा र सम्पन्नहरूलाई भने यसले फरक पाथ्र्यो । यही फरकले गर्दा यसपटक कांग्रेसको गाउँ प्रवेशले बढी चर्चा पाएको थियो ।

२०१८ सालदेखि नेपाली कांग्रेसले सशस्त्र विद्रोह सुरु गरेको थियो । सात सालमा प्राप्त भएको अधिकार र पन्ध्र सालमा भएको निर्वाचनद्वारा जननिर्वाचित सरकारलाई च्युत गरेर राजाले पुनः निरङ्कुशतन्त्र फर्काएका थिए । जनताद्वारा चुनिएका प्रतिनिधिहरूको ठाउँमा राजाद्वारा मनोनित हुक्केबैठकेले राज्य चलाउन थालेका थिए ।

गाउँ अहिले पनि सामन्ती सोच र प्रणालीमा बाचेको थियो । सहर र सीमित व्यक्तिमा आएको पुँजीवादी परिवर्तन गाउँमा आइपुगेको थिएन । गाउँमा पुरानै राज थियो । पुरानै संस्कार संंस्कृति थियो । राजा भनेका भगवानका प्रतिरूप हुन् भन्ने सोचको बाहुल्यता थियो ।

दलित, महिला र जनजातिमाथि भएको उत्पीडन के कारणले भएको हो भन्ने स्वयम् उत्पीडितलाई थाहा थिएन । गरिब हुनुको भित्री कारण के हो भन्ने गरिबहरूलाई थाहा थिएन । बस उनीहरूलाई त यो सबै पूर्वजन्मको फल र भाग्यको खेल हो भन्ने थाहा थियो । यस्तो अवस्थामा गाउँमा कांग्रेस जानु निश्चय पनि सन्त्रासको विषय हुन्थ्यो नै ।

कांग्रेसले धर्म, संस्कृति र राजा मान्दैन भन्ने हल्ला गाउँगाउँमा फैलिएको थियो । जसरी पछिल्लो समय कम्युनिष्ट विद्रोहीमाथि अवाच्छित आरोप लगाइन्थ्यो त्यही अवस्था थियो त्यतिखेर । यो सबै गाउँका शोषक र फटाहाहरूले फैलाएको हल्ला थियो । कांग्रेसले गाउँका राम्रा छोरीचेली, खसी कुखुरा र धनसम्पत्ति लुट्छन् भन्ने हल्ला यसरी फैलिएको थियो कि गाउँलेहरूमा कांग्रेसप्रति नकारात्मक धारणा बनाउनु काफी भएको थियो ।

त्यस्तो बेला गुल्मीको पश्चिम क्षेत्रमा शमशेर बहादुर खत्रीको नेतृत्वमा कांग्रेसको विद्रोही फौज फुगेको थियो ।

(२०७८)


  प्रकाशित मिति : २६ चैत्र २०७८, शनिबार ०९:०१