मेरो समयको विद्रोही कथा

म बाँचेको समय साह्रै उच्चाटलाग्दो छ । उच्चाटलाग्दो यस अर्थमा कि यहाँ मेरो अहमको कुनै मूल्य छैन । मेरो समयको मूल्य भत्किएको छ । म न आधुनिक हुन सकेको छु न मेरो समयमा आनन्दले बाँच्नै सकेको छु ।

सोच्छु यो समय मेरो हैन । म अब पुरानो भैसकेँ । जसरी पुराना भाँडाकुँडाहरू गोदाममा थन्काइन्छ, त्यस्तै भएको छु म । मेरो विचार थन्क्याइएको छ । मेरो उपलब्धी थन्क्याइएको छ । र, मेरो भावना थन्क्याइएको छ ।

कहिलेकाहीँ यस्तै लाग्छ ।

यो सोच सत्यमा आधारित छैन । म असत्य पर्दाभित्र लुकेर वर्तमानलाई हेर्न खोजेको छु । के साँच्चिकै यो समय मेरो प्रतिकूल छ ? के यो समयले मलाई अन्धकारमा थन्क्याइदिएको छ ? हुनसक्छ । हो । पक्कै पनि म इतिहास बन्न नसकेर थन्किएको पात्र हुँ ।

मलाई मेरो समयदेखि इष्र्या लाग्छ । रिस उठ्छ । म एकलै भुतभुताउँछु । एकलै बरबराउँछु । किन सुन्दैन यो समय मलाई ? किन मेरो नेतृत्वलाई स्वीकार्न अनकनाउँछ ? किन हेपेर बोल्छ यो समय ? मलाई नसुन्ने, मेरो अस्तित्वको विनिर्माण गर्ने अधिकार यसलाई कसले दियो ? कसले दियो यसलाई मानिसलाई खण्डिकरण गर्ने अधिकार ?

कतै यो सबै मेरै कमजोरीको प्रतिफल त हैन ? समय ! कस्तो अमूर्त विशेषण । मभित्र समयको कुन त्यस्तो तन्तु छ र जसले मलाई छिन्नभिन्न गरोस् ! अहँ यो सबै भ्रम हो । कतै म भ्रममा बाँचेको त छैन ? समयलाई तुत्कार्ने अधिकार कसले दियो मलाई ? म आफै जिम्मेबार छु भत्किनुमा । म आफै भत्किदै छु, खस्दै र ढल्दै छु । अनि समयलाई केके दोष !

के म साँच्चिकै बुढो भएँ । के मेरो विचार बुढो भयो ? के यो समय नयाँ हो ?

मलाई विश्वास छैन । अहँ पटक्कै विश्वास छैन यो समयप्रति । यो लाज्जाहीन समय हो । यो असाध्यै मातिएको छ । घिनलाग्दो छ यो समय । नकच्चरो साँडे जस्तो, अझ यसो भनौँ नृशंस भाले जस्तो यो समय किन यसरी पात्तिएको ?!

मेरो लय भत्काउने को हो ? को हो मेरो उपलब्धीलाई नजरअन्दाज गर्ने ? मेरो विगत कति सुन्दर थियो ? कसैले पनि मतिर औँला उठाउँदैनथ्यो । मेरो राज थियो । मेरो सान थियो । तर अहिले ! छिः कस्तो बेसोमती समयमा बाँचिरहेको छु म ? कसरी म यस्तो भड्खारोमा परेँ ? कहाँबाट आयो यो उत्तरआधुनिक समय ? कसरी भत्किएको म ? कसरी मेरो आदर्श धुपिसाप भयो ? ओहो ! कस्तो सान थियो ? कसरी बाँचेको थिएँ म ! तर यो समयले कसरी प्रश्न गर्न सिकाएको ? कसरी घृणा ओकल्न सिकाएको ? को हो त्यो मेरो अघिल्तिर उभिएर मलाई आँखा तरेर हेर्ने ?

मलाई यो निर्घिणी समयसँग बोल्नु छैन ।

मेरो सोच कहाँ गयो ? कहाँ गयो मेरो आदर्श ? मैले बोल्दा कोही चुँ नगर्ने समय कसरी छिल्लिएको ? कसरी प्रश्न गर्न सिकेको ? कसरी सबैतिर अराजकता फैलिएको ? यो विद्रोह केका निम्ति ? किन मेरो सान र मान गिर्दो छ ? के म साँच्चिकै कमजोर भएको हुँ ?

मेरो समयका मानिसहरू यसरी नै कोक्याउँछन् ।

के तपाईलाई माथिको भनाइ जायज लाग्छ ? के साँच्चिकै यो समयले अग्रजको सम्मान गर्दैन ? के यो समयले पूराना मूल्यहरू भत्काउँदै हिँडेको छ ? कतिपयलाई लाग्छ वर्तमानलाई पुराना मूल्य भत्काउने अधिकार छैन । ऊ अनुशासनहीन हुँदै गएको छ । किन बासेका होलान पोँथीहरू भन्ने लागेको छ उनलाई । उनलाई जसरी पनि विगतको उच्चाटलाग्दो समयलाई बचाउनु छ । भाले संस्कृति बचाउनु छ । ठालु संस्कृति बिउँताउनु छ । 

विचरा मेरो समयका धुन्धुकारीहरू !!

यो विगतमाथि पनि हस्तक्षेप हो । म बाँचेको समयप्रति पनि हमला हो । यी दुईमध्ये कुनै समय पनि मैले सोचे जस्तो छैन । दुबैमा अहम छ । दुबैमा विकृति र विसंगति छ । तर विगत रुढ र असभ्य छ । नारीपीडक छ, जाति उत्पीडक छ । ऊसँग फोस्रा आदर्शहरू छन् । ढोँग र कपटहरू छन् । अहिलेको समय, जहाँ म बाँचेको छु, स्वच्छन्द छ । अलिअलि उछृङ्खल छ, अलिअलि विशृङ्खल छ । यसले विद्रोह गर्छ, यसले प्रश्न गर्छ तर विचारहीन उत्तरआधुनिक जञ्जालबाट बाहिर निस्किन सक्दैन ।

विनिर्माण आदर्शमय भएको छ । यसले ध्वंसमाथि विश्वास गर्दैन, क्रान्ति र परिवर्तनमाथि अविश्वास गर्छ । डेरिडा र फुकोयामाहरू यसका आदर्श पात्र भएका छन् । ऊ आफूलाई स्वतन्त्र देशको स्वतन्त्र नागरिक भएकोमा गर्व गर्छ, तर हरक्षण, हर समय दासता बोकेर हिँड्छ । मलाई किनिदेऊ, मलाई दास बनाऊ भन्दै कोक्याउँछ ।

जसलाई आदर्श मान्छ त्यसैभित्र छद्म सामन्तवाद लुकेको भेउ नै पाउँदैन । पुँजीवादभित्रको दासता उसले पढ्नै पाउँदैन । मानौँ ऊभित्रको ज्ञानचक्षु हराउँदै गएको छ । हुन त ऊ पनि वर्तमानसँग आक्रोशित छ, समयलाई गाली गर्छ । तर त्यो कुण्ठा मात्र न हो । ऊ प्रत्येक पाइलामा कुण्ठा व्यक्त गर्छ तर समयसँग विद्रोह गर्न सक्दैन । उसलाई डर लाग्छ, कतै मलाई समयले अस्वीकार गर्ने त हैन ?

म यही समयका त्यस्ता लुकेका विषय उठाउने छु जसले समयलाई कैदी बनाउन प्रपञ्च गर्दै छन् । कसरी हाम्रा उपलब्धीले पोल्दै छ ? कसरी महान् परिवर्तनपछि पनि अनुहारमा खुसी हराउँदो छ ? म लेख्ने छु । म मेरो विगत लेख्ने छु । र, वर्तमानमा हामीले भोगेका अप्ठ्याराहरू लेख्ने छु । कसरी हाम्रो मूल्यहरू स्खलित हुँदै छन् ? कसरी आदर्श र सच्चरित्रको नाममा कुण्ठित समयलाई बचाउन खोजिदै छ ? र, कसरी हामीमाथि आधुनिकताका नाममा विकृति र विसंगतिहरू थोपरिँदै छ ? सबै लेख्ने छु ।

(२०७८)


  प्रकाशित मिति : २६ चैत्र २०७८, शनिबार ०७:०४