मान्छेहरू चिहानको प्रसङ्ग आयो कि तर्सिन्छन् । अझ मसानघाटमा त उनीहरू सकभर जान नपरे हुँदो हो भन्छन् । हाम्रो समाजमा मसानघाट डरलाग्दो बिम्बको रूपमा चित्रित छ ।
म सानो छदा बुवाले मसान जागेको कुरो गर्नुहुन्थ्यो । म रातमा अबेरसम्म मसानघाटतिर हेरिबस्थेँ । तपाईलाई लाग्ला म बढाइचढाइ लेख्दै छु । हैन । यो सत्य हो । हाम्रो खर्क घरभन्दा पन्ध्र मिनेटको दूरीमा छ, जहाँबाट मसानघाट स्पष्ट देखिन्छ । हामी धेरैजसो खर्कमै बस्थ्यौँ । म रातमा अबेरसम्म त्यहीँ बसेर मसान जागेको हेर्थें । तर मैले जति नै हेरे पनि मसान कहिल्यै जागेन ।
हिन्दु संस्कारमा मानिस मरेपछि त्यसको चिनो मेट्ने चलन छ । कुनै समय त ऊसँगै उसको चिना, कपडा र अन्य सामान मात्र हैन श्रीमती र दासी पनि जलाउने चलन थियो । आज त्यसमा कमी आएको छ । सती जाने प्रचलन हटेको छ । तर चिना मेटाउने चलन भने यथावतै छ । चिना अर्थात् मानिसको पहिचान ।
सुरुमा मसान जागेको हेर्न लालायित हुने म पछि चिना जलाएका मानिसको पहिचान खोज्न उत्साहित भएँ । के साँच्चै हिन्दु संस्कारले मानिसको पहिचानसुद्ध जलाउँछ ? म यो पश्नको उत्तर खोज्दै जाँदा हिन्दु संस्कारले मात्र हैन विश्वका धेरैजसो संस्कृतिमा पहिचान मेटाउने प्रचलन रहेको पाएँ । अझ अगाडि खोज्दै जाँदा सबैभन्दा बढी पहिचान राज्यसत्ताले मेटाएको पाएँ । मानिसका, खासगरी विद्रोहीका आवाज मेटाउन राज्यसत्ताले मसानघाटको प्रयोग गर्दो रहेछ । कुनै समय म तिनै दबाइएका आवाज खोज्ने क्रममा चिहानसम्म पुगेको थिएँ । यो क्रम कहिले सुस्त भयो कहिले तीव्र, तर रोकिएन ।
म मान्छेको मृत्युसँगै माटोमा मिल्न पुगेका उनका योगदान खोज्न चाहन्छु । नलेखिएको इतिहास खोज्न चाहन्छु । राज्यले नलेखेको इतिहास लेख्न चाहन्छु । यो काम त्यति सहज काम हैन । मैले त साहित्य पो लेख्ने हो । कहाँको इतिहासको कुरो गर्दै छु म ? यो काम इतिहासकारले पो गर्ने होला ।
गणतन्त्र आएको यतिका समयसम्म पनि हामीले केही गर्न सकेनौँ । दविएका स्वर खोज्न सेकेनौँ, चिहान खोतलेर गुमनाम पात्रका कथाहरू, आशा, सपना र व्यथाहरू पढ्न सकेनौँ । छोटकरीमा भन्दा हामी चिहानमै गएनौँ । यस्तो लाग्छ कि चिहान भनेको डरलाग्दो ठाउँ हो । त्यहाँ जानु भनेको मसानसँग जिस्किनु हो । मसानलाई चलाउनु र ऊसँग जिस्किनु भनेको सामान्य कुरो पनि त हैन । मृत्युलाई शिरमा राखेर किन पुग्नु वित्थामा मसानघाट !
हामीले विगतलाई उधिन्ने भन्दा दवाउने कार्यलाई प्रोत्साहन गर्दा रहेछौँ । राज्यले इतिहास खोतल्दैन । इतिहास खोस्रनुभन्दा दवाउनुमा फाइदा पुग्छ । ल सत्ताले त गरेन गरेन, हामीले पनि त गरेनौँ । गर्न सक्ने वातावरण नै हामीले सिर्जना गरेनौँ । आज पनि हिजो जस्तै सत्ता र सत्तासीनको वरिपरि घुम्ने र उनकै निगाहामा बाँच्ने संस्कृति विकसित हुँदो छ । हामीले अलग धारको निर्माण गर्न सकेनौँ । पुरानै गोहोमा हिँडेपछि पुग्ने पुरानै ठाउँमा हो ।
मैले माथि नै भनिसकेँ, हामीले मसानघाटलाई घृणा गर्छौं । एकपटक सोलो पखालेपछि त्यो ठाउँमा मृतकको कुनै अवशेष बाँकी रहन्न । हामीले नै राख्न चाहन्नौँ । यही नै हाम्रो सबैभन्दा ठुलो कमजोरी हो । किन मानिसको पहिचान मेटाउन उद्यत हुन्छौँ हामी ?
पश्चिमाहरू प्रत्येक वर्ष स्मृति दिवस र अन्य उत्सवहरूमा मृतकको चिहानमा पुगेर फूल चढाउँछन् । एकपल्ट विस्मृत हुँदै गएका उसका योगदान फेरि स्मरण गर्छन् । हामी भने नर्क र स्वर्गको परिकल्पनामा मख्ख पर्दै पिण्डदान गर्छौं । यही नै हामी र पश्चिमाहरूमा फरक छ । इतिहासलाई बुझ्ने र मूल्याङ्कन गर्ने कुरामा उनीहरू र हामीमा अन्तर छ ।
वितेको कथा लेख्नु वा इतिहास बनाउनु त्यति सहज काम हैन । इतिहास लेखनले त्यो समयको निस्पक्ष मूल्याङ्कन गर्न सक्नुपर्छ । सत्यतथ्यका आधारमा वस्तुको अध्ययन गर्नुपर्छ । हामीले इतिहास लेखनको आधुनिक पद्धतिलाई अँगाल्नुको सट्टा विस्मृतिलाई अँगाल्यौँ । हिजोका उपलब्धीलाई सम्यक आलोचना र मूल्याङ्कनका आधारमा हैन घृणा र तिरस्कारका आधारमा अध्ययन ग¥यौँ ।
इतिहासलाई बङ्ग्याउनु इतिहासको पुनमूल्र्याङ्कन हैन । नाम कमाउने हतारोले पनि हामीले यसो गरिरहेका छौँ । पैसा कमाउने लोभले पनि यसो गरेका छौँ । लुच्चो मानसिकताले चिहानभित्र इतिहास हैन द्रव्य खोज्छ । द्रव्यको भोकले नेपाली समाज आफूले बनाएको पहिचान आफै मेट्दै हिँडिरहेको छ ।
म चहन्नँ यही पद्धतिलाई मैले पनि अनुसरण गरूँ । हुन त म इतिहास लेखिरहेको छैन, कथा लेखिरहेको छु । कथामा आख्यान हुने नै भयो । कथामा पात्र र परिवेश हुने नै भयो । हुन सक्छ यो आख्यानात्मक इतिहास हो ।
नलेखिएको कथा यस्तै कथाहरूको शृङ्खला हो ।
(२०७८)