जिन्दगी भन्नु नै सपना रहेछ

मान्छेको जीवनमा अनेक इच्छा हुन्छन्, रहर र कामना हुन्छन् । सानैदेखि, जब ऊ अलिक सोच्न र बुझ्न सक्ने हुन्छ ऊभित्र यस्ता रहर र इच्छाहरू बन्ने र भत्किने प्रक्रिया सुरु हुन्छ ।

हुन त सानो पिउसोसँग के नै इच्छा हुन्छ र ! समयमा खान पाए हुन्थ्यो, आमा टाढा नगैदिए हुन्थ्यो भन्ने त हुन्छ । मिठो खाने, खेल्ने र राम्रो लगाउनेभन्दा अरू के नै रहर हुन्छ र ! यी रहरहरू उमेरसँगै बढ्दै जान्छन् । भोगाइसँगै परिमार्जित र विस्तृत हुँदै जान्छन् ।

कुनै समय गायक बन्ने अभिलाषा बाकेर हिँडेको युवा समयक्रममा उक्त सपनालाई चटक्कै छोड्न सक्छ । कुनै समय कवि बन्ने ध्याउन्नले दारी पालेर गल्लीगल्ली भौँतारिने युवा केही समयमै अर्कै बन्न पुग्छ । किन यस्तो हुन्छ ? किन मानिसका सपना परिमार्जन हुन्छन् । किन मानिसले युवासमयमा धेरे सपना देख्छ ? र, समयसँगै किन उसले सबै छोेड्दै जान्छ ? यो मान्छेको मनोवैज्ञानिक स्वभाव हो कि समयले पारेको प्रभाव ।

पश्चिमा विकसित राष्ट्रमा किशोरवयमै ऊभित्रको प्रतिभाको आँकलन गरेर उसलाई त्यही क्षेत्रमा काम गर्ने वातावरण बनाइन्छ । परिवारले, समुदायले र स्कुल तथा सरकारले यस्तो पद्धतिको विकास गरेको पाइन्छ । हाम्रोमा त्यस्तो कहाँ हुनु र ! एउटा गायक बन्ने राम्रो कला र गला भएको किशोर चट्टानमाथिको विरुवा जस्तै थकरिएर बाँच्न बाध्य हुन्छ । आफूभित्र अपार संभावना हुँदाहुँदै पनि एउटा कविहृदयको युवा ‘गोकुल जोशी’ मर्न बाध्य हुन्छ ।

समाजमा त्यस्ता पात्रहरू छन्, जो आफूभित्र अपार सम्भावना हुँदाहुँदै पनि चाम्रिएर बस्न बाध्य छन् । नदीकिनाराका सुख्खाबगर र टार जस्ता भएर बाँच्नु हाम्रो नियति भएको छ । किशोरवयमा अनेकौ सपना साँचेको युवा अरबमा अलपत्र भएको छ । सुन्दर समाजका लागि युद्धमा होमिएको युवा आज दीनहीन बनेर बाँचेको छ ।

सुन्दर भविष्यको सपना देख्नेहरू आज निराश र भयवित बनेर बाँचेका छन् । उनीहरूसँग अझै पनि सपना बाँकी छन् । आफ्ना सपना मरे पनि, मार्न बाध्य भए पनि आफ्ना सन्ततिका सपना नमरुन् भन्ने चाहना बोकेका पात्रहरू पनि हामीसँगै छ । यसैका लागि आफूलाई सकाएर बाँच्न विवश पात्रहरू पनि हामीसँगै छन् । हिजो युद्धमा लड्दा घाइते बनेको शरीर घिसार्दै हिँड्नु परे पनि सपना देख्न नछोडेका पात्रहरू हामीसँगै छन् ।

म अब ती पात्रको सपना खोज्ने छु ।

पलपल र दिनप्रतिदिन हराउँदै र सकिदै गएका सपना कसले खोज्छ र ! आफ्नो सपनाको सुरुक्षा गर्न नसक्ने समयमा अरूको सपना कसले खोजिदेओस् । छिन्नभिन्न पारिएका, खोसिएका र चोरिएका सपनाको खोजी सहज काम हैन । मानिसलाई लाग्न सक्छ म जे भन्दै छु यो त पागल पन भयो । आफ्नै सपनाको हरिबिजोक भएको समय अरूका सपना खोज्छु भन्नु पागलपनभन्दा अरू के नै हुन सक्छ र !

तर मलाई थाहा छ यिनै हराएका सपनाहरूमा मेरा पनि सपना मिसिएका छन् । म पनि यिनै अपहेलित पात्र जस्तो पात्र हुँ । हुन सक्छ, उनीहरू आफ्ना इच्छाले भन्दा पनि बेइमान समय र बज्रस्वाँठ हर्ताकर्ताका कारण पछि परे । सपनाहीन बनाएर फालिए । म पनि केही उनीहरूको केही आफ्नै कारणले सपनाहरूबाट टाढिएँ ।

मानिस स्वभावैले फरक सोच भएको प्राणी हो । उनीहरू, जसलाई म खोज्न गैरहेको छु, यस अर्थमा फरक छन् कि तिनीहरूभित्र तिनकै सपना छन् । सपना सुखी जीवन बनाउने छ, सपना समतामूलक संसारको निर्माण गर्नेछ । ती मेरा पनि सपना हुन् । मेरो समय र मेरो वास्तविकता हुन् ।

धेरे पहिलेदेखि यस्ता पात्रहरू सपना मारेर बाँच्न बाध्य भए । कोही सपनाकै लागि मृत्युवरण गरे । कसैले सपनाकै लागि सङ्घर्ष गरे । कति सपना खोज्दाखोज्दै सपना चपाएर बाँचे । म ती सबैका चिहान उधिन्ने छु । र, किन हामी पछि प¥यौँ भन्ने कारणको सानै अंश भए पनि लेख्ने छु ।

काम त्यति सजिलो छैन । असजिलो बाटो रोजेपछि डराउनु पनि त भएन । आफ्ना सपना बेवारिसे बनेको देखेपछि न हो म यो यात्रामा निस्किएको । नयाँ सोचका साथ केही गर्छु भनेपछि पछि हट्नु पनि त भएन । अलग धार यस्तै सपनाको खोजी, विमर्श र अध्ययनले त निर्माण हुन्छ ।

(२०७८)


  प्रकाशित मिति : २६ चैत्र २०७८, शनिबार ०४:५८