मलाई पनि भन्नु छ

विष्णु भण्डारी

झन्डै छ दशकको लामो यात्रा पूरा गर्दै गर्दा मसँग त्यस्ता अनुभूतिहरू सङ्ग्रहित छन्, जसले म बाँचेको समय बोल्छन् । त्यस्ता कथाहरू छन्, जसले मेरो समयको भाका बोल्छन् । म आज तिनै कथा र व्यथाको विरक्तलाग्दो कथा सुनाउँदै छु । विरक्तिभित्र पनि अलिकता खुसी छ, आशाको त्यान्द्रोले बुनेको जीवन छ र त्यही जीवनको सुस्केरा छ ।

यात्रा हो, यात्रामा अनेक पात्रसँग साक्षात्कार हुन्छ, अनेक घटना–परिघटना घट्छन् र अनेक दर्दहरू छाया बन्छन् । तिनै पात्रहरू जसले मलाई जीवनको विराट दर्शन देखाए, जसले आफ्ना कथाहरू सुनाए र मबाट ओझेल परे, म तिनै विस्मृत हुँदै गएका क्षणहरू खोज्ने छु । उनका आँसुको भाका, नीरस अनुहारको व्यथा र कुण्ठित जीनको दशाले म विभोर भएको थिएँ । कतिपय ठाउँमा उनीहरूसँगै रोएको थिएँ, कति ठाउँमा हाँसेको थिएँ र कतिपय ठाउँमा रिसाएको थिएँ ।

तपाईंसँग पनि यस्ता अनुभूतिहरू पक्कै छन् । केही विछोडका, केही मायाका र केही सङ्घर्षका संस्मरणहरू छन् । केही विस्मृत भए हुन्, केहीले रातीराती झस्काउँदै चियाउँदा हुन् । तर के तपाईले कहिल्यै आफ्ना कथाहरू सुनाउनुभएको छ ? प्रायः मानिसहरू आफ्ना कथा सुनाउँदैनन् । कमैले मात्र हो आफ्नो पीडा सुनाउन पाउँदा हर्षानुभूति गर्ने । कोही मनभित्रको पीडा मनभित्रै गुम्साएर बाँचेका हुन्छन् । कोही दुख्दादुख्दै मृत्युवरण गर्छन् ।

दुःखहरू गरिबका मात्र हुन्नन् । हुने खानेका पनि दुःख छन्, हुँदा खानेका पनि दुःख छन् । सम्भ्रान्तहरू पनि दुःखी छन् भुइँमान्छे पनि दुःखी छन् । मान्छेले आफ्ना दुःख हटाउन चाहन्छन् । आफूभित्र गुम्सिएका कथाव्यथा मेटाएर हलुको बन्न चाहन्छन् । यस्ता मान्छेहरू प्रायः यात्रामा भेटिन्छन्, सडक र गल्लीमा भेटिन्छन् । दूरदराजका विकट गाउँमा भेटिन्छन्, विदीर्ण बस्ती र गाउँमा भेटिन्छन् । कतिपय भट्टीमा भेटिन्छन् कति नदी किनारामा भेटिन्छन् ।

म यिनै अकिञ्चन पात्रका कथा भन्ने छु । जो सधैँ दुःखले थिचिएर कथा बने । के तपाईंसँग पनि कथा छन् ? छन् भने भन्न नहिचकिचाउनु होला । आफ्ना कथा भन्न किन लजाउने ?  म छु नि ! तपाईंको यात्रामा म पनि सँगै छु । तपाईंको दुःखमा दुःखी हुने म पनि छु ।

के तपार्ईले छोरो बेपत्ता भएकी आमाको कथा सुन्नुभएको छ ? विदेशिएको कमाउने छोरो बन्दबाकसमा फर्किदा अनुभूत हुने पीडा कस्तो हुन्छ होला ? भर्खर विवाहबन्धनमा बाँधिएको जोडी विदेशिदा कस्तो अनुभूति हुन्छ होला ? के तपाईंले कहिल्यै उनीहरूको मनोभावना पढ्नुभएको छ ? यो ज्यादै दर्दनाक कुरो हो । भन्न त्यति सहज त कहाँ छ र ! के आँसुको भाका शब्दमा उतार्न सकिन्छ ?

तर म सुरु गर्दै छु ।

मलाई पनि भन्नु छ भन्ने पात्रहरूको लामो लिस्ट छ मसँग । उनीहरू सदियौँपछि भर्खरै बिउँझिएका हुन् । त्यसैले आफ्ना कुरा भन्न आतुर छन् । मलाई विश्वास छ, मान्छेहरूले अब निर्धक्कसँग आफ्ना कथा भन्ने छन् । सुन्नुहोस् त, उनीहरूको अनुहारमा अव्यक्त बिम्ब छ नि ! त्यही नै उनीहरूको कथा हो । उनीहरू आक्रोश मनभित्रै लुकाएर हिँडिरहेका छन् । तर आँखाहरूले मलाई पनि भन्नु छ भन्ने भाव व्यक्त गर्छन् । यही भाव नै सुनसान रातमा आँसु बनेर बग्छ ।

म यहाँ यात्रामा भेटिएका तिनै आँसुको भाका सुनाउने छ ।

(२०७८)  


  प्रकाशित मिति : २६ चैत्र २०७८, शनिबार ०४:४६