मान्छेका आफ्नै कथा हुन्छन् । आफ्नै व्यथा हुन्छन् । जिन्दगीको लामो आरोह अवरोहमा उसले अनेकौँ हन्डर खान्छ । अनेकौँ दुःखको सामना गर्छ । त्यही क्रममा पाइला पाइलामा अनेकौँ घटना घट्छन् । अनेकौ कथा बन्छन् । कथा बन्ने र भत्किने प्रक्रिया चलिरहन्छ ।
सदियौँदेखि कथा बनेका छन्, बिर्सिएका छन् । मानिसको मृत्युसँगै हराएका छन् । सङ्ग्रहित गरेको भए, सायद कथाले नै ब्रह्माण्ड छोपन्थ्यो होला । सुन्दासुन्दा मासिन स्वयम् कथामा रूपान्तरित हुन्थ्यो होला । यो सबै कल्पना हो । सबैका कथा कसले सुनोस् र ? कसले लेखोस् ? कथाहरू मर्मस्पर्शी हुँदाहुँदै पनि हराएर जान्छन् । मानवीय संवेदनालाई झकझोर पार्ने खालका हुँदाहुँदै पनि बिलाएर जान्छन् ।
आँसु हुन् कथाहरू, आँसुजस्तै सुकेर जान्छन् । पल्लवित वसन्तको सौन्दर्य हुन् कथाहरू सुन्दासुन्दै हराएर जान्छन् । आमाको ममता र बाबाको स्नेहले भरिपूर्ण मझेरी हुन् कथाहरू, प्रेमको कुरकुर र भोकले चिथोरेका आर्द्र नयन हुन् कथाहरू । म तिनै कथाको उत्खनन्को यात्रामा निस्किएको छु ।
मसँग पनि कथा छन् । जीवनका धेरै त्यस्ता मोडहरू छन् जसले मेरो समय बोल्छन् । मेरो समयको यथार्थको प्रतिनिधित्व गर्छन् । तर पनि म लेख्न सकिरहेको छैन । लेखिरहेको छैन । कलाजी भन्छन् आफ्नो जीवनकथा समेटेर आख्यान लेख्नोस् । पहिले आफैले भोगेको कुरा लेख्ने लेखक मात्र सफल हुन्छ । तर पनि म लेख्न सकिरहेको छैन ।
लेख्न सकिरहेको छैन कि आख्यानीकरण गर्न नसकुँला भन्ने चिन्ताले भागेको हुँ । यसको जबाफ मसँग छैन । कला जे भन्छन् ठिकै भन्छन् । लेखकले आफ्नै कुरा भन्ने हो । आफ्नो समाज र समयका धैरे मानिसको कथासँग मेरो कथा जोडिएको छ । धेरैका वेदना मेरै जस्ता छन् । मैले मेरो कथा लेख्ने भनेको मेरो समयको कथा लेख्ने हो । मैले बाँचेको समयलाई व्यक्त गर्ने हो ।
भर्खरै समालोचक राजेन्द्र सुवेदीको असामयिक निधन भयो । साहित्यकार बानिरा गिरीको पनि निधन भयो । मृत्यु स्वभाविक हुँदाहुँदै पनि ऊसँगै उसले बाँचेको समय मर्छ । उसका अनुभूति र अनुभवको लामो सङ्ग्रह ऊसँगै जल्छ । हुन त कोही पनि अमर छैन, अमर हुन पनि सक्दैन । अमरतामा विश्वास गर्दिनँ म । जीवनको अन्तिम सत्य मृत्यु हो । कोही पनि मृत्युभन्दा पर हुन सक्दैन, भाग्न र स्वतन्त्र हुन सक्दैन । मृत्युले मलाई पनि कतिखेर लग्ने हो थाहा छैन ।
मैले घरीघरी रसियन भाषाका महाकवि पुस्किनलाई सम्झिन्छु । उनको मृत्यु यति अस्वाभाविक र असामयिक थियो कि उनले केही भन्नै पाएनन् । त्यति सानो उमेरमै अथाह सिर्जना छोडेर जाने कविको जीवनदसा कस्तो थियो होला ? हुन त उनका बारे धेरैले लेखे धेरैले बोले । तर मानिस स्वयम् बोल्नु र अरूले बोलिदिनुमा धेरै फरक छ ।
म अब बोल्न चाहन्छु ।
लामो समयदेखि बोल्ने माध्यमको खोजीमा थिएँ म । शैली र संरचनाको सोधमा थिएँ । तर पनि सकिरहेको थिइनँ । यति लामो समयको लेखकीय जीवनमा मेरोबारे कोही बोलेन । बोल्ने साहस गरेन । रुचि र इच्छा गरेन ।
कला नै त्यस्ता व्यक्ति हुन् पहिलोपल्ट मेरोबारे बोल्ने । मैले लेख्नु भनेर लेखेका पनि हैनन् । न मैले आजसम्म कसैलाई मेरो कथा भन्न लगाएँ । यसो गर्नु बाहियात जस्तो लाग्छ मलाई । म कुनै धुरन्धर विद्वान पनि त हैन । म कुनै सेलिब्रेटी हैन । र, म कुनै खास मान्छे पनि त हैन । अनि किन लेख्नुप¥यो मेरो कथा ? जाबो भर्खर दश कृति प्रकाशित छन् । एकाध दर्जन अप्रकाशित पाण्डुलिपी होलान् । यतिकै भरमा म ठुलो मान्छे हुँ भनेर लेखाउँदै हिँड्न पनि भएन ।
मेरै समकालीनका दर्जनौँ कृति प्रकाशित छन् । विभिन्न सङ्घसंस्थामा छन् । ठुलठुला लेखकसाहित्यकारका नाममा स्थापित प्रतिष्ठानमा उनीहरू नै छन् । र, प्रज्ञाप्रतिष्ठानमा उनीहरू छन् । उनीहरूको अगाडि म बबुरो न परेँ । कुनै हैसियत नभएको अड्बाङ्गे एक्लो बाँदर जस्तो । जता गए पनि भत्काउनुपर्ने । फरक सोच राख्नै पर्ने र प्रश्न गर्नै पर्ने । यस्तो व्यक्तिको न कोही मित्र हुन्छन् न कोही समर्थक । यो मेरो भनाइ हैन मेरी श्रीमतीको हो ।
म जे छु र जति छु त्यो मेरो स्वाभिमान हो । मेरो अहम् हो । मेरो सङ्घर्ष र मेहनतले बनाएको सुन्दर संसार हो । म यो संसारलाई भत्काउन चाहन्न । तुच्छ स्वार्थका लागि म कसैसँग गला मिलाउन सक्दिनँ । यो मैले भनेको मात्र हैन, गरेर देखाएको हुँ । कसैले भन्न सक्छ नपाउँदासम्म चोखो रहने न हो । पाएपछि सबै फोहरको नालीमा डुब्न पुग्छन् । तर मैले त यस्ता धेरै परीक्षा पास गरिसकेको छु ।
यस्ता धेरै कथा, जुन मसँग छन्, मैले भन्ने छु । मेरो विगतको सङ्घर्षशील जीवनमा मैले धेरै दुःखसुख भोगेको छु । मैले बनाएका ती कथाहरू मैले भन्नुपर्छ । मैले भनिनँ भने मैले गरेको त्याग जुन खरानी जस्तै छ, उडेर जाने छ । हुन त यो त्याग पनि हैन । जीवनवृत्तिका लागि गरिने सङ्घर्षलाई केको त्याग भन्नु ? अरूको लागि जलेर बनेको खरानीको पो महङ्खव ! म खरानी हुन बाँकी छ । म खरानी हुने छु । यो कुनै अहम् हैन । यो कुनै मोक्ष प्राप्तिको अभिलाषा हैन । र, यो कुनै अमरतााको कहानी हैन ।
म त्यो खरानीभित्र हराउँदै गएको विगत कोट्याउने छु । त्यहाँ मेरा मात्र कथा हुने छैनन् । मेरो समयका त्यस्ता अदृश्य कथाहरू हुने छन् जुन यत्तिकै बेवारिसे बनेर सडक किनारा, गाउँबेसी र खेतखलियानमा हराएका छन् ।
यो मेरो समयको उत्खनन् पनि हो । म अब समयलाई खन्ने काममा लाग्ने छु । यो पनि मेरो सिर्जन कार्यको एउटा पाटो हुने छ । म अव्यक्त त्यस्ता पहलुहरू कोट्याउने छु जुन कुनै कुण्ठा र प्रतिसोधद्वारा अभिप्रेरित हुने छैनन् । मेरो समयका नकच्चरा पात्र, तुच्छ सोच र कष्टकर समयलाई म फेरि उधिन्ने छु ।
कथा जिन्दगीको यसरी सुरु हुन्छ ।
(२०७८)