‘मान्छे उहाँ इमानको पर्नु भो
तर खेती प्रतिगमनको गर्नु भो
प्रतिगमनको खुकुरी
बेइमानले चलाए पनि काटिने गर्धन हो
इमानले चलाए पनि काटिने गर्धन हो ।’ (अर्जुन पराजुली)
कवि पराजुलीले यो कवितांश जेठ २३ गते सामाजिक सञ्जाल फेसबुकमा राखेका थिए । उनी आन्दोलनका कवि हुन्, सामाजिक विकृति विसंगति, भ्रष्ट राजनीति र निरंकुश सत्ताका विरुद्ध उनी लामो समयदेखि व्यंग्यात्मक कविता लेख्दै आएका छन् । उनको यो कविताले पनि पछिल्लो समय नेपाली राजनीतिमा देखिएको प्रतिगमनकारी चरित्रमाथि व्यङ्ग्य प्रहार गरेको छ । यो कविता भर्खरै केपी ओली सरकारबाट बाहिरिएका परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीप्रति लक्षित रहेको बुझ्न सकिन्छ।
ज्ञवालीले सरकारबाट हटाइएपछि फेसबुकमा पोस्ट गरेको स्टाटस अहिले बौद्धिकवृत्तमा चर्चाको विषय बनेको छ । सामाजिक सञ्जालमा यसको पक्ष र विपक्षमा व्यापक चर्चा र बहस भइरहेको छ । उक्त स्टाटसलाई लिएर सामाजिक सञ्जालमा आएका प्रतिक्रियाहरूले हाम्रो सामाजिक र राजनीतिक चरित्रलाई उदाङ्गो पारिदिएको छ ।
ज्ञवालीको समर्थनमा व्यक्त भावनालाई एउटै थुन्सेमा हालेर घोलमाल गर्दिनँ म, गर्नु पनि हुँदैन । तीनवर्षे स्वर्णकालमा उनीबाट फाइदा लिएका र पदप्रतिष्ठा तथा नियुक्तिमा पुग्न पाएकाले गुणगान गाउनुलाई त्यतिधेरै महत्व दिनु आवश्यक छैन । यस्ता खन्चुवा र लोभीपापीहरूले हिजो पनि यसैगरी सत्ताको राग गाउँथे, आज पनि गाउँछन् र भोलि पनि गाउनेछन् ।
उनका आफन्त, परिवारजन र इष्टमित्रहरू, जसले उनको प्रशंसामा लेखे, त्यो पनि टिप्पणीयोग्य विषय हैन । हाम्रो समाज अझै पनि आफ्नो र पराया नामको जब्बर पर्खाल लगाएर बाँचेको छ । आफ्नाले गरेका जघन्य अपराधलाई पनि आँखा चिम्लेर स्वीकार गर्छ ।
तर डरलाग्दो त त्यतिखेर हुन्छ जतिखेर सामाजिक अभियन्ता, लेखक, साहित्यकार र बौद्धिक भनिनेहरूले पनि यस्ता विषयलाई तर्क र तथ्यहीन तरिकाले समर्थन गर्न थाल्छन् ।
नेपाली राजनीतिमा ज्ञवालीलाई नचिन्ने कमै छन् । कतिपयलाई लाग्छ उनी राजनीतिका चतुर खेलाडी हुन् । कतिपयलाई लाग्छ, इमान र आदर्शमा बाँचेका मान्छे हुन् । २०३० सालदेखि वामपन्थी राजनीतिक आन्दोलनमा क्रियाशील उनी २०५४ सालमा एमालेको केन्द्रीय सदस्य भएका हुन् । त्यसपछिका दिनमा उनी निरन्तर सत्ता र शक्तिमा छन् । नीति निर्णय गर्ने ठाउँमा छन् ।
त्यसो त उनी राजनीतिज्ञ मात्र हैनन्, लेखक पनि हुन् । उनले प्रदीप ज्ञवाली र शीतविन्दुका नामबाट विविध विधामा पुस्तक पनि लेखेका छन् । उनी पहिलोपल्ट २०५६ सालको निर्वाचनमा गुल्मीबाट सांसद चुनिएका थिए । राजनीतिक दौडमा त्यसपछिका दिनमा उनलाई पछाडि फर्किनु परेन ।
शालीन र इमान्दार नेताको छवि बनाउन सफल छन् उनी । वर्षौंदेखि सत्तामा रहे पनि आर्थिक मामिलामा मुछिएको पाइएको छैन । यसो त उनको दैनिक जीवन पनि सादगीपूर्ण नै छ । सबैसँग घुलमिल हुने र विपक्षीका पनि कुरा सुन्ने र हाँसेर बोल्ने उनको स्वभाव छ ।
यस्ता इमान र आदर्शमा बाँचेका ज्ञवालीको स्टाटसमा के थियो जसले त्यतिधेरै चर्चा पायो ? मन्त्रिनिवास छोड्नुभन्दा अघिल्लो दिन फेसबुकमा उनले लेखका छन्, ‘यस अवधिमा मेरो तर्फबाट विदेश भ्रमण बापतको लेभी ३,१४,९३०। र पारिश्रमिक बापतको लेभी ६,२०,०००। गरी जम्मा ९,३४,९३०। पार्टी खातामा जम्मा भएको र पारिश्रमिकको कर कट्टीबापत ३,७२,४९१।१३ सरकारी कोषमा दाखिला भएको छ । हाल मेरो खातामा ७,४१,७७५।६० बचत रहेको र केही घरायशी सामान एवं दुई सय जति पुस्तक थपिनु बाहेक मन्त्री बने लगत्तै सार्वजनिक मेरो सम्पत्ति विवरणमा कुनै फेरबदल नभएको जानकारी गराउँछु ।
मैले प्रयोग गर्दै आएका सवारी साधन र ल्यापटप ९म्याकबुक प्रो० आजै मन्त्रालयलाई फिर्ता गरेको र पुल्चोकस्थित सरकारी निवास भोलि बिहान छाड्ने जानकारी गराउन चाहन्छु ।ु
नेपाली राजनीतिमा चर्चा कमाउन धेरै काम गर्नुपर्दैन । त्यसो त राजनीतिमा मात्र हैन सामाजिक, सांस्कृतिक र साहित्यिक क्षेत्रमा पनि धेरै गर्नुपर्दैन । जिन्दगीभरि लुट मच्यायो र सानो रकम दान ग¥यो बस् ऊ महान् दानी भइदिन्छ । अझ साहित्यिक सांस्कृतिक प्रतिष्ठान बनाएर एकाध लेखकलाई भर्ति ग¥यो भने त्यसको भोलिपल्टबाटै उसको गुणगान सुरु हुन्छ । अझ यसो पुरस्कार र सम्मानको पनि व्यवस्था गर्नसके उसले गरेका ‘सात खत’ पनि माफ हुन्छन् ।
नेपालीको बानी भनेकोे सानो खुसीमा पनि फुरुङ्ग हुने हो । ज्ञवालीलाई थाहा छ नेपालीलाई के भन्यो भने फुरुङ्ग पार्न सकिन्छ । नेपाली जाति सानासाना उपलब्धिमा पनि सन्तुष्ट हुने र फुरुङ्ग हुने जाति हो भन्ने त विगतले पनि देखाएकै छ । त्यसमा पनि उनी त जनताकै घरदैलोमा राजनीति गर्दै यहाँसम्म आएका हुन् । उनलाई नेपाली सेन्टिमेन्टलाई कसरी ‘क्यास’ गर्न सकिन्छ भन्ने राम्रैसँग थाहा छ ।
उनको स्टाटस आउन भ्याएको थिएन, ‘बहुचर्चित स्वास्थ्य विशेषज्ञ’ तथा लेखक रवीन्द्र समीरले लेखिहाले– ‘यो संस्कार अनुकरणीय छ । विद्वान, तार्किक तथा सन्त नेता प्रदीप ज्ञवालीबाट राजनीतिले सिकोस् ।
त्यसपछि प्रध्यापक तथा समालोचक डा. नेत्र एटमले लेखे– ‘पदमा रहेर पनि छवि नबिगार्नु नेपाली नेतामा हुने अपवाद नै हो १ यस्तै अपवादमा पर्ने नेता प्रदीप ज्ञवालीज्यूलाई हार्दिक बधाई र आफ्नो उच्च छवि बनाइराख्न सधैं सफल हुनुहोस् भन्ने कामना ।ु
उनको पक्षमा आफूलाई प्रगतिशील आन्दोलनको मसिहा ठान्नेदेखि प्रजातान्त्रिक हुँ भन्नेसम्मले लेख्न भ्याए । कवि सीमा आभासले लेखिन्– ‘कति विरोध र हैरानी मात्र सुन्नु । तारिफ गर्दा मजा आउने कुरा पनि पढौँ । एउटा आशावादी संस्कारलाई निरन्तरता दिने बाटो पनि खुल्यो । परराष्ट्र मन्त्रीबाट बिदा भइरहँदा प्रदीप ज्ञवालीले लेख्नुभएको कुरा जस्ताको तस्तै ।
सीमाको स्टाटसमा प्रतिक्रिया दिँदै कवि हाङयुग अज्ञातले व्यङ्ग्य गर्दै लेखे, ‘नाकले नाकको नाक थामिदिएछ । हगि त !’
उनको स्टाटसलाई आलोचनात्मक हिसाबले हेर्ने स्टाटसहरू पनि नआएका होइनन् । साहित्यकार घनेन्द्र ओझाले लेखे– ‘केपी ओलीका हर अराजकता, राष्ट्रघातीरजनघातीरसंविधानविरोधी हर्कतका फड्के किनाराका साक्षी र सहयोगी हुन् नि यिनी, अनि किन यति भावुक प्रशंसा गरिरहेका छन् मान्छेहरू ? म बुझिरहेको छैन ।
ओलीका भित्रिया सहयोगी भएर पनि गलत र असंवैधानिक अनि राष्ट्रहित र जनहितविरोधी काम गर्नबाट रोक्न प्रयास नगरी उल्टै सहयोग गर्ने प्रदीप ज्ञवाली समग्रमा पछिल्लो समय सही मान्छे लाग्दैनन् । अनावश्यक भावनामा नबगौँ ।
कवि सोझो गाउँलेले लेखे– ‘केपी ओली यति अलोकतान्त्रिक, अनैतिक र अत्याचारी बन्नुमा गोकुल बास्कोटा, महेश बस्नेत, सूर्य थापा जस्ताभन्दा ईश्वर पोखरेल, विष्णु पौडेल, सुवास नेम्बाङ र प्रदीप ज्ञवालीको ठुलो हात छस त्यसैले मन्त्रीबाट हट्दा देखाएको चटककै कारण धूर्त ज्ञवालीको वाहवाही गर्नु आवश्यक छैन…..’
कतिले चाहिँ प्रशंसामा लेखिएको स्टाटस अति आलोचित भएपछि खुसुक्क डिलिट गरे । कति आफ्नो मतमा अडिग रहे । माथि उल्लेख गरिएका भनाइहरू प्रतिनिधिमूलक भनाइ मात्र हुन् ।
यसको अर्थ के प्रतिक्रियामा व्यक्त भएजस्तै ज्ञवाली इमान्दार, आर्दशवादी नेता र आशावादी संस्कारका पर्याय हुन त ?
कसैको पनि चरित्रको मूल्याङ्कन उसको रूपपक्षबाट मात्र संभव हुँदैन । बाहिर त सबैजना सुन्दर नै देखिन प्रयास गर्छन् । तर पात्रको असलियत उसको अन्तरवस्तुमा गएर खोज्नुपर्छ । उसको विचार, दृष्टिकोण, काम र सामाजिक मूल्यमा खोज्नुपर्छ । त्यही भएर त आलोचकहरू शब्द र कर्मबीचको तादाम्यतालाई बढी महत्व दिन्छन् । आलोचनाको यस कोणबाट हेर्दा के ज्ञवाली शब्द र कर्ममा खरो नै उत्रिएका छन् त ?
बहस उनले के लेखे, के खाए र कसरी हाँसे भन्नेबाट सुरु हुन सक्दैन । न त उनले लेखेको स्टाटस, उनको शालीन र साहित्यिक व्यक्तित्व तथा इमान्दारितालाई मात्र आधार बनाएर समग्र मूल्याङ्कन हुन्छ । उनी वर्षौंदेखि सत्ताको बागडोर समाउने नेतामध्येमा पर्छन् । सामान्य कर्मचारीबाट परराष्ट्र मन्त्रालयको जिम्मेबारीमा आएका एस जयशङ्करले भारतको परराष्ट्र मामिलामा उधुम मच्याए । तर दशकौँदेखि राजनीति गरेर कैयौँपल्ट नीति निर्माण तहमा पुगेका ज्ञवालीले नेपाली परराष्ट्र नीतिलाई किन दिशानिर्देश गर्न सकेनन् ? बहस यहाँबाट सुरु गरिनुपर्छ । हालाकि जयशङ्करले नेपाल र अन्य छिमेकी राष्ट्रको सम्प्रभुतालाई अझै कमजोर बनाउने कुचेष्टा गरे । आफ्नै देशको आन्तरिक राष्ट्रियतालाई अरू कमजोर बनाउन मोदीलाई सहयोग पु¥याए । उनले जे गरे, साउथब्लकको परराष्ट्र नीतिको आधारलाई अरू बलियो बनाउन गरे ।
गणतान्त्रिक संविधानपछिको पहिलो जननिर्वाचित सरकारले परराष्ट्र नीतिलाई पुनर्परिभाषित गर्नुपथ्र्यो । सुरक्षा, राष्ट्रिय एकता र परराष्ट्र सम्बन्धमा पुनर्मूल्याङ्कन गर्न सक्नुपथ्र्यो । तर यहाँ त्यस्तो भएन । बहुमतप्राप्त सरकारका शक्तिशाली मन्त्रीको जिम्मेबारी सामान्य पनि थिएन । तर, उनले नेपालको परराष्ट्र नीतिमा के परिवर्तन ल्याए ? के स्थापित गरे ? र, अस्थिर राजनीतिका कारण कमजोर बनेको परराष्ट्र नीतिको जगलाई मजबूत र सुदृढ बनाउन के पहल गरे ?
ज्ञवालीको मात्र हैन सबैको मूल्याङ्कन समकालीन राजनीतिक र समाजिक मुद्दामाथि उसले लिएको अडानका आधारमा गरिनुपर्छ । साथै उसले सम्भालेको जिम्मेवारी रिजल्ट आउनेगरी सम्पन्न ग¥यो कि गरेन भन्ने आधारमा हुनुपर्छ । यहाँ फोस्रो इमान्दारिता र देखावटी शालीनताको कुनै अर्थ हुन्न । विद्यार्थी जतिसुकै असल भएपनि परीक्षामा राम्रो अङ्क ल्याएन भने ऊ फेल हुन्छ ।
ज्ञवाली सरकारमा रहँदा के के नीतिगत र संस्थागत परिवर्तन गरे ? नेपालको परराष्ट्र नीति र विधिलाई कर्मचारीतन्त्रबाट अलग गर्न सके कि सकेनन् ? अथवा मित्रराष्ट्रहरूसँग दह्रो रूपमा प्रस्तुत हुन सके कि सकेनन् ? धेरै प्रश्नहरू छन् उनीसँग जोडिएका ।
नेपालको परराष्ट्र नीति भनेको महेन्द्रीय नीति हो कि गणतन्त्र प्राप्तिसँगै यसमा परिवर्तन भएको छ ? अहिलेसम्म हामीले बुझेको नेपाली परराष्ट्र नीति भनेको मगन्ते नीति हो । जसले लालीपप देखायो उतै ढल्किने पराधीन संस्कृतिमा आधारित । शक्तिशाली र बलशालीको अगाडि झुक्ने र ‘त्वम् शरणम् गच्छामी’ गर्ने ! उनले यसमा के परिवर्तन गरे ? यो भन्दा पहिले उनी संस्कृति र पर्यटन मन्त्री भएका थिए । त्यो समयमा उनले नेपाली संस्कृतिको उन्नयनमा के काम गरे ?
अहिले नेपाली राजनीतिमा नेकपा एमालेको केपी ओली गुटबाट जे भइरहेको छ त्यो अक्षम्य अपराध हो । हजारौँको बलिदान र दशकौँको सङ्घर्षबाट प्राप्त उपलब्धिलाई सिध्याउने परिपञ्च जसले गरेपनि त्यो क्षम्य हुन सक्दैन । केपी ओली र उनको मण्डलीले गणतन्त्र र संविधानमाथि जुन किसिमले हस्तक्षेप गरिरहेको छ त्यो सबैभन्दा घृणित र प्रतिगमनकारी हर्कत हो । प्रतिगमनका योजनाकारलाई साथ दिने ज्ञवाली र उनका सहयोगी कुनै पनि हालतमा क्षमायोग्य र प्रशंसायोग्य चरित्र हुन सक्दैनन् ।
केपी ओलीले सत्ताको आडमा सात दशकको आन्दोलन, सङ्घर्ष र सशस्त्र युद्धबाट प्राप्त उपलब्धिलाई कुल्चने काम गरे । संविधान र गणतन्त्रको धज्जी उडाए र विधिको शासनलाई अधिनायकवादी पोल्टामा पु¥याउने हर्कत गरे । त्यही पश्चगमनकारी र प्रतिगमनकारी हर्कतसँग नजिकबाट जोडिने पात्र हुन् ज्ञवाली । केपीलाई प्रतिगमनको यात्रामा दह्रो साथ दिनेमा ईश्वर पोखरेल, विष्णु पौडेल, सुवास नेम्बाङ र प्रदीप ज्ञवालीको महत्वपूर्ण हात छ । इतिहासमा अक्षम्य अपराध गरेका ओली र त्यसको फट्के किनाराका साक्षी बनेका छन् ज्ञवालीहरू ।
बानेश्वरको प्रतिगमनविरोधी सभामा लेखक खगेन्द्र सङ्ग्रौलाले महाजण्ड केपीलाई त्यो ठाउँमा पुर्याउने कोको हुन्, तिनीमाथि प्रश्न गर्ने कि नगर्ने भन्दै औँला ठड्याएका थिए । उनको यो कटाक्ष प्रचण्डतिर थियो । उनको आशय बयलगाडा चढेर अमेरिका पुग्न सकिँदैन भन्ने केपीलाई गणतन्त्रको साँचो सुम्पिने र सत्ताको ढुकुटीमा पु¥याउने प्रचण्डले माफी माग्नुपर्छ भन्ने थियो ।
निस्किँदै गर्दा ज्ञवालीले आफ्नो कार्यकालमा यो–यो गरेँ र यो–यो गर्न सकिनँ भनेर लेख्न सक्नुपथ्र्यो । तर उनले त्यसो गर्न सकेनन् । उनले केपी ओलीले ल्याएका जस्तोसुकै प्रस्तावलाई आँखा चिम्लिएर समर्थन गरे । भारतीय हस्तक्षेपमाथि कहीँ कतै बोलेनन् । उनी र उनीजस्तै अपरिपक्व र अदूरदर्शी परराष्ट्र मन्त्रीका कारण परराष्ट्र मामिलाबारे थाहै नभएका पार्टी कार्यकर्ताहरू राजदूत बन्ने वातावरण सिर्जना भएको हो । भ्रष्टचारमा डामिएकाहरू विदेशी राजदूतावासमा ससम्मान पठाइएको हो ।
टिकापुर घटनाका दोषीको मुद्दा फिर्ता लिने सरकारको निर्णयलाई २०७४ सालमै उनले विरोध गरेका थिए । उनले अपराधिक घटनालाई राजनीतिक आवरण दिई तीनमा संलग्नलाई उन्मुक्ति दिने सरकारको निर्णयप्रति आपत्ति व्यक्त गर्दै वक्तव्य समेत दिएका थिए । तर अहिले उनकै कार्यकालमा उक्त मुद्दालाई ‘डिसमिस’ गरियो । उनी चुइँक्क बोलेनन् । संसदमा विचाराधीन नागरिक विधेयकलाई सत्ता जोगाउनकै लागि अध्यादेशमार्फत् लागू गरियो । उनी चुपचाप बसे । यी र यस्ता गम्भीर प्रकृतिका विषयमा उनले आफ्नो स्टाटसमा बोलेनन् । बरु आफ्नो कार्यकालको अर्थहीन र बेतुके आर्थिक हिसाबको फेहरिस्त दिए ।
यस्ता नौटङ्कीहरू विगतमा पनि प्रशस्तै भएका छन् । पूर्व प्रधानमन्त्री कृष्णप्रसाद भट्टराई बालुवाटारबाट बाहिरिँदा प्रवेश गर्दाकै टिनको ट्याङ्का र छाता लिएर निस्किएका थिए । वर्षमान पुन ‘अनन्त’ सरकारी गाडी छोडेर आफ्नै गाडीमा बाहिरिएका थिए । घनश्याम भुसाल र योगेश भट्टराई सरकारी गाडी छोडेर एउटै निजी गाडीमा बाहिरिएका थिए । यस्तै मन्त्रालयबाट गोकर्ण विष्ट ट्याक्सी चढेर घर गएका थिए । यस्ता झिनामसिना र अर्थहीन देखावटी विषयले प्रमुखता पाउने नेपाली समाजमा ज्ञवालीले वाहीवाही पाउनु नौलो कुरो भएन । फेरि व्यवहारमा उनी यति शालीन र भद्र छन् कि त्यो देखेकाहरू उनीबाट प्रभावित नहुने प्रश्नै आउँदैन ।
जहाँसम्म तीन वर्षे कार्यकालमा रु ७,४१,७७५।६० मात्र बचत गरेँ भन्ने छ, त्यो सत्य नै हो भन्ने कुनै आधार पनि त छैन । कुन नेताले भनेको छ र मैले भ्रष्टाचार गरेँ भनेर । ल उनले आर्थिक भ्रष्टाचार गरेनन् । मानियो । तर ‘अनियमितता र भ्रष्टाचार आर्थिक मात्रै हुँदैन नीतिगत भ्रष्टाचार झन डरलाग्दो हुन्छु भन्ने कुरा मनन गर्ने कि नगर्ने ?
हामी नेपालीहरू स–साना कुरामा फुरुङ्ग हुन्छौँ र रमाउँछौँ भन्ने कुरा त माथि पनि भनियो । गौतम बुद्ध नेपालमा जन्मिएका थिए भनेर मोदीले संसदमा मन्तव्य दिँदा टेबुल ठोकेर खुसी व्यक्त गर्र्नेहरू हौँ हामी । ललिता निवास जग्गा अनियमितता प्रकरणमा डामिएका नेताहरूलाई भने गाली गर्ने तर कवि दिनेश अधिकारीलाई आँखा चिम्म गरी प्रशंसा गर्ने जाति हौँ हामी । र, जीवनभर यथास्थितिको राग गाउने माधव घिमिरेलाई महान् भन्नेहरू हौँ हामी ।
कुनै पनि पात्रको मूल्याङ्कन खण्डबाट हैन, समग्रमा गर्नुपर्छ । उसले गरेका एकाध राम्रा कामको आधारमा उसको समग्र मूल्याङ्कन हुन सक्दैन । भावनामा बगेर कुनै पनि व्यक्तिको अध्ययन गर्न थालियो भने त्यो एकाङ्गी हुन्छ । ज्ञवालीहरूको मूल्याङ्कन पनि खण्डमा हैन, समग्रबाट गर्नुपर्छ ।
राजा महेन्द्रले गरेका अपराध, प्रजातन्त्रको हत्या र एकदलीय व्यवस्थाका माध्यमद्वारा नेपालीमाथि गरेको अतिचारलाई हामीले बिर्सिसकेका छौँ । उनले गरेको भाषिक, सांस्कृतिक, जातीय र सामाजिक विभेद र उत्पीडनलाई हामीहरू सामान्य रूपमा लिन्छौँ । उनले गरेका विकास निर्माण र राष्ट्रियताप्रतिको प्रतिबद्धतालाई आधार बनाएर उनको मूल्याङ्कन गरेको पाइन्छ । उनको राष्ट्रियता कति खोक्रो र कमजोर धरातलमा उभिएको थियो भन्ने त अहिले हामीले भोग्दै छौँ ।
राजा वीरेन्द्रले २०२८ सालदेखि २०४८ सालसम्म देशलाई बन्दी बनाए । पञ्च र उनका आसेपासेलाई राष्ट्रको ढुकुटी ब्रह्मलुट गर्न छुट दिए । नागरिकको बोल्न, लेख्न र प्रकाशन गर्न पाउने अधिकार खोसे । उनकै कारण देश अरू पछाडि पर्यो । तर यस्तो सङ्गीन विषयलाई पनि हामीले आँखा चिम्लियौँ । उनको वंशनासको कारणले हामी यति भावुक र संवेदित भयौँ कि मै हुँ भन्नेहरूले पनि उनको मृत्युमा शोकाञ्जली लेख्यौँ ।
चाहे महेन्द्र हुन् अथवा केपी, देउवा हुन अथवा प्रचण्ड र ज्ञवाली, उनीहरू सबै देशका ठेकेदार हुन् । देश बनाउने वैधानिक ठेक्का लिएर गएपछि काम गर्नुपर्छ कि पर्दैन ? देश विकास उनीहरूको (काम) डिउटी हो । डिउटी निभाउनु कर्तव्य पनि हो । तर नेपाली राजनीति व्यवसाय बनेको छ । पेशा र खेती बनेको छ । एउटा लेखक, शिक्षक र सामाजिक अभियन्ताको त समाजप्रति उत्तरदायित्व हुन्छ भने देशनिर्माणको ठेक्का लिएका ठेकेदारको हुन्छ कि हुन्न ?
तर, हामीहरू भावनामा बहन्छौँ । र, उसले गरेका स–साना कामको प्रशंसामा समय खेर फाल्छौँ । अतिशय भावावेशमा आएर आलोचनाहीन हुनु निश्चय पनि सकारात्मक हैन । आलोचना गुमाउनु र प्रश्न गर्न छोड्नु भनेको चेतनामा बिर्को लाग्नु बराबर हो । कतै हाम्रै कारणले त जन्मिरहेका छैनन् प्रदीप ज्ञवालीहरू ?
केपीले अहिले मात्र गरेका होइन उहिल्यै महाकाली बेचेर राष्ट्रघात गरेकै हुन् । तर भारतीय नाकाबन्दीको बेला लिएको अडानलाई आधार मानेर उनलाई देवत्वकरण ग¥यौँ । चुच्चे नक्सा सार्वजनिक गरेपछि झन् उनको प्रशंसाले आकाश छोयो । ‘समृद्ध नेपाल सुखी नेपाली’को नारा त छँदैछ । केही वर्षमै पानीजहाज र रेल आइपुग्ने उद्घोषसमेत गरेका थिए उनले । हामीले यी सबैलाई ताली ठोकेर समर्थन ग¥यौँ । तर हामीले यो बुझेनौँ कि एउटा चटकेले जति नै चटक देखाए पनि त्यो छिनभरका लागि मनोरञ्जन मात्र हो ।
छिनमै रुने र छिनमै खुसी हुने बालस्वभावले कहिल्यै पनि विषयको गाम्भीर्यता बुझ्दैन । छेपारो देख्दा भाग्ने र पुतली देख्दा रोमाञ्चित हुने प्रवृत्ति बालमनोविज्ञानमा आधारित प्रवृत्ति हो । यस्तो प्रवृत्तिमा आलोचना हुन्न, प्रश्न हुन्न । जिज्ञासा हुन्छ तर त्यो पनि आमाको काखको न्यानो भेट्दाबित्तिकै गुम हुन्छ । हामीले इतिहासमा यस्ता धेरै बालस्वभाव देखाएका छौँ, जसले हामीलाई सधैँ पछाडि पारिरहेको छ । अतिशय भावुक हुनुलाई पनि स्वस्थकर मान्न सकिन्न । भावनाको अतिशय दबाबले आलोचनात्मक चेतमा क्षति पुग्छ नै ।
सामन्तवादले कहिल्यै पनि आलोचना सहन्न । हामी सामन्तवादी उत्पादन प्रणालीका उपज हौँ । हामीमा आलोचना हैन भक्ति र जि हजुरी बढी छ । पुँजीवादले हरेक कुरामा प्रश्न गर भन्छ । विकृति, विसंगति र देवत्वकरणलाई भत्काउन पुँजीवादले सिकाउँछ । सायद स्वतन्त्रता, समानता र बन्धुत्वजस्ता बुर्जुवा क्रान्तिका मूल्य र आदर्शहरू हामीकहाँ आइपुग्दा विकृत भइसकेका थिए । पुँजीवाद आफ्नो आदर्शबाट च्युत भइसकेको थियो । त्यही भएर हामी त्यस्तो समाजमा बाँचेका छौँ जहाँ न पुँजीवादी आदर्श छ न समाजवादी । सामन्तवाद र दलाल पुँजीवादका खिचडी उत्पादन हामीहरूले बुझ्ने भनेको खण्डमा हो, ‘सर्फेस’मा हो ।
गुणदोषको विवेचना र परख सामान्य चेतनाले सम्भव हुन्न । अदना र नादान चेतनाले ज्ञवालीहरूलाई राम्रैराम्रो देख्छ । उनीहरूको चुनावी खर्च र वितण्डा देख्दैन । नीतिगत भ्रष्टाचार देख्दैन । र, भ्रष्टाचारलाई केवल आर्थिक विषयसँग मात्र जोडिदिन्छ । राजनीतिक विकृति, पछौटे सोच र प्रतिगमनकारी तथा यथास्थितिवादी हर्कतलाई शालीन व्यक्तित्व र ‘यति त गरे’ अथवा ‘अरूले यही त गरेका छैनन्’ जस्ता कुतर्क र आलोचनाहीन सोचले छोप्छौँ ।
फेरि हाम्रोजस्तो अतिशय राजनीतिक ध्रुवीकृत समाजमा यस्तो विवेचन सम्भव पनि छैन । यहाँ सामान्य किसान र श्रमिकदेखि उच्च ओहोदामा रहेका सबैसबै राजनीतिक पार्टीबाट प्रभावित छन् । राजनीतिक चेतना हुनु निश्चय पनि सुन्दर कुरो हो तर पार्र्टी सम्बद्ध नभए बाँच्नै नसक्ने वातावरण सिर्जना हुनु डरलाग्दो कुरो हो । हामीहरू अहिले यही नियतिबाट गुज्रिरहेका छौँ । यस्तो अवस्थामा कसैको पनि सम्यक मूल्याङ्कन हुन सक्दैन ।
फेरि आलोचनालाई गालीशास्त्रको रूपमा बुझ्ने हाम्रोजस्तो समाजमा जोकोहीले हत्तपत्त आलोचना पनि गर्न सक्दैन । त्यसमा पनि सत्ताधारी पार्टीका नेता कार्यकर्ताको आलोचना गर्नु, प्रश्न गर्नु र फरक मत राख्नु भनेको आफूले आफैलाई अप्ठ्यारोमा उभ्याउनु हो । यस्ता पात्रको न पदीय श्रीवृद्धि हुन्छ, न उसले सरकारी तहबाट न्यायको आशा गर्न सक्छ ।
यस्तो अवस्थामा प्रदीप ज्ञवालीहरू सधैँ आदर्श पात्र रहिरहन्छन् । भलै, उनले सत्तामा पुगेर जनताको पक्षमा सिन्को नभाचून् । तर यसमा विचरा शीतविन्दुहरूको दोष छैन, दोष त हामीजस्ता सबैलाई सुन्दर देख्ने बुद्धिजीवी भनाउँदाहरूको छ । सत्ता र स्वार्थका लागि नेताको चाकडीमा चमर डोलाउनेहरूको छ । भलै, हामी पनि यही व्यवस्थाका उत्पादन हौँ ।
(२०७८ जेठ २९ मा नेपाली साहित्यघर डटकममा प्रकाशित)