आलोचनाको संस्कृति – विष्णु भण्डारी

हामीले भोगेको युग प्रशंसाको युग हो । सामन्ती समाज प्रशंसा रुचाउँछ । हुन त मान्छे प्रशंसाभोगी प्राणी हो । प्रशंसाको भोक नभएको मान्छे सायदै भेटिएला । सदियौँदेखि पूर्वीय संस्कृति र सभ्यतामा प्रशंसाको हालीमुहाली कायम रह्यो । अझ यसलाई स्तुतिगान भन्दा फरक नपर्ला । यसको अर्थ मैले पश्चिमा सभ्यता र संस्कृतिमा प्रशंसाको स्थान कमजोर थियो भन्न खोजेको हैन । अध्ययन गर्दा पश्चिमा समाजमा भन्दा मेरो समाजमा प्रशंसाको भोक बढी भेटेको हुँ, आलोचनाको संस्कृति कमजोर पाएको हुँ ।

इसापूर्व पाँचसयतिरै थेल्सले मिलेटस सिद्धान्तको प्रतिपादन गरेका थिए । जतिखेर हाम्रो समाजमा सनातन हिन्दु धर्मको दबदबा थियो । पहिलोपल्ट समाजको अध्ययन प्रकृतिमा घट्ने घटना र तर्कको आधारमा गर्नुपर्छ भनेर यिनैले भनेका हुन् । हुन त त्यतिखेरै बुद्धले पनि हिन्दु धर्मको विकल्पमा निर्वाण प्राप्तिको नयाँ दर्शन खोजी गरिसकेका थिए । त्यो समयमा अनिश्वर, अनात्मा र निरन्तर परिवर्तनको कुरा गर्नु आफैमा साहसी काम थियो । बुद्ध धर्मको मुख्य उद्देश्य निर्वाण प्राप्ति थियो । उनको खोज राजनीतिक र समाजिक व्यवस्थाको परिवर्तन र सुधार थिएन । निरपेक्ष शान्तिको खोज थियो ।

यी दुबै दार्शनिक तत्कालीन समाजका आलोचक थिए । दुबैले यथास्थितिमा क्रमभङ्ग गर्दै नयाँ सोचको विकास गरेका थिए । दुनियाँलाई नयाँ किसिमले बुझ्न र विश्लेषण गर्न प्रेरित गरेका थिए । त्यतिखेरदेखि नै हो समाजलाई आलोचनात्मक रूपले प्रर्गेल्न थालिएको । यसको अर्थ योभन्दा पहिले आलोचनाको संस्कृति थिएन भन्ने हैन । चार्वाकले हिन्दु कट्टरताका विरुद्ध र गार्गीले पुरुष अहम्का विरुद्ध प्रश्न उठाएका थिए । यो भनेको यथास्थितिमाथि गरिएको दार्शनिक प्रहार थियो, आलोचनाको नयाँ विकास थियो ।

यसरी हेर्दा आलोचनाको संस्कृति करिब पच्चिस सय वर्ष पहिले सुरु भएको देखिन्छ । यति लामो समय बितिसक्दा पनि हाम्रोमा भने यो संस्कृति शैशवकालमै छ । भर्खर मान्छेले धक फुकाएर समाजसँग प्रश्न गर्न थालेका छन् । आलोचनाको संस्कृतिलाई समाज विकास र जीवनपद्धतिसँग जोड्न थालेका छन् । यस्तो अवस्था कसरी सिर्जना भयो ? सोचनीय प्रश्न हो यो । त्यसो त हाम्रो समाजमा गालीशास्त्र पहिल्यैदेखि नै बलशाली छ । कसै कसैले गालीशास्त्रलाई नै आलोचनाको रूपमा लिएको पनि पाइन्छ । मेरो विचारमा आलोचनालाई गालीको रूपमा स्वीकार गर्नु नै हाम्रो कमजोरी थियो । सामाजिक सञ्जाल, मिडिया र संसदमा समेत एकले अर्कोलाई आलोचना गरेको देखिन्छ । व्यक्ति, समूह र गुट वा राजनीतिक पार्टीहरू गालीशास्त्रमा रमाएको पाइन्छ । यस्तो आलोचना व्यक्तिगत वा समूहगत स्वार्थ पूर्तिका लागि गरिन्छन् । विपक्षीको धर्म भनेकै आलोचना गर्ने हो भन्ने संस्कृतिको विकास हुँदै छ । त्यसो भए व्यक्तिगत र गुटगत फाइदाका लागि गरिने अस्वस्थ गालीगलौज नै आलोचना हो त ? अशीष्ट, अमर्यादित र तर्कहीन आलोचना नै आलोचनाको संस्कृति हो त ?

आलोचना भनेको यथास्थितिप्रति प्रश्न उठाउनु हो । गुण र दोषका आधारमा विषयको चिरफार गर्नु हो । असङ्गत समयप्रति प्रश्न उठाउनु आलोचनाको संस्कृति हो । इसापूर्व तीनसयतिरै सुकरातले युवालाई प्रश्न गर्न उक्साएका थिए । प्रश्न गर्नुको अर्थ हो आलोचनालाई अङ्गिकार गर्नु । आलोचनालाई आविष्कारको मेरुदण्डको रूपमा बुझियो भने मात्र समाज प्रगतिउन्मुख हुन्छ । यसरी हेर्दा आलोचनाले समाजलाई प्रगति र समृद्धितर्फ अभिमुख बनाउँछ भन्ने सोच नै आलोचनाको संस्कृति हो । हाम्रो समाजमा अहिले पनि प्रश्न गर्न मनाही छ । आलोचना गर्नु भनेको प्रश्न गर्नु हो । यथास्थितिले प्रश्न रुचाउँदैन । अझ यसो भनौँ सत्ताले आलोचना सहँदैन । तत्कालीन समाजमाथि प्रश्न उठाएकै कारण सुकरातलाई  मृत्युदण्ड दिइयो ।

पूर्वीय वाङ्मयका सबैजसो ग्रन्थमा स्तुतिगान भेटिन्छ । यहाँको समाज स्तुतिगानबाट निर्माण भएको समाज हो । वेदका सबैजसो ऋचा अन्ध प्रशंसाले भरिएका छन् । आगो, पानी, ग्रह र नक्षत्रहरू कसरी उत्पत्ति भए ? स्वर्ग, नर्क र देवताको अस्तित्वको आधार के हो ? यतातिर तर्कपूर्ण तरीकाले सोच्ने झन्झट पटक्कै गरिएन । स्तुति गरियो । आलोचना गरिएन प्रशंसा गरियो । प्रशंसाले भरिएका छन् हाम्रा सिर्जना । बुद्धले तत्कालीन धार्मिक मान्यतामाथि प्रश्न उठाउँदै नयाँ तर्क पेश गरे ।

सन १२१४ मा बेलायतमा जन्मिएका दार्शनिक रोजर बेकनले प्राधीकारको सम्मान, परम्परा, भीडको विचार र मनको संवेगद्वारा प्रशिक्षित हुनुलाई अज्ञानताको स्रोत भन्थे । उनले सत्य र धर्मलाई तर्कका आधारमा विवेचना गर्नुपर्ने कुरामा जोड दिन्थे । उनले भन्थे, ‘यदि मेरो बस चल्थ्यो भने म अरस्तुका सबै पुस्तक जलाइदिने थिएँ, किनभने तिनीहरूलाई पढ्नु केबल समयको बर्बादी हो, यी पुस्तकले गलत सन्देश दिनुको साथै अज्ञानता बृद्धि गर्छन् ।’ नेपालमा भने अहिलेसम्म पनि त्यस्तो खँदिलो र प्रष्ट विचार व्यक्त गर्ने दार्शनिक जन्मिएनन् । जति जन्मिए संस्थापनको छत्रछायाँमा आफ्नो भविष्य देख्ने र खोज्ने जन्मिए । सत्ताभन्दा बाहिर पनि कला, साहित्य र दर्शनको अलग्गै सत्ता हुन्छ भन्ने अनुभूत नगर्ने समाज हो यो । यस्तो समाजमा ज्ञान, अध्ययन र पठनलाई सत्तासँग आँखा जुधाउने हतियारको रूपमा विकास गर्ने सम्भावना कमै रहन्छ ।

पश्चिमी समाजभन्दा पूर्वीय समाज बढी रुढिग्रस्त र पुरातन थियो र छ । हुन त त्यतिखेरका सबै समाज यही नियतिको शिकार भएका थिए । लोकायत दर्शनका प्रणेता र सशक्त भौतिकवादी अभियन्ता चार्वाक पूर्वीय सभ्यताका पर्खर आलोचक हुन् । यिनले स्वर्ग, नर्क, आत्मा र परमात्मा कल्पनामात्र हो भने । ईश्वर प्रमाणविनाको कुरो भएकोले नकारे । यिनले पृथ्वी, पानी, बायु र तेज यी चार कुराको संयोगले शरीरमा चेतना आफैँ उत्पन्न हुन्छ भन्थे । यही भएरै यिनलाई युधिष्ठिर नामका राजाको धर्मसभामा पिटीपिटी मारियो ।

इसापूर्व ५०० तिरै एथेन्समा प्रजातान्त्रिक समाजव्यवस्थ विकसित भएको देखिन्छ  । त्यतिखेरै राजनेता क्लेस्थेनीजले वयस्क नागरिकको मताधिकार सहितको संविधान लागु गरेका थिए । कल्पना गरौँ त्यतिखेर हाम्रो समाज कुन सामाजिक र राजनीतिक अवस्थाबाट गुज्रिएको हुँदो हो । यस्तो सामाजिक परिपाटी भेट्न हामीले पच्चिस सय वर्ष कुर्नुपर्यो । हुन त यहाँ पनि गणराज्य नभएका होइनन् । कपिलवस्तु नमूना गणराज्य थियो । इतिहासमा यस्ता गणराज्यको प्रशस्तै प्रसङ्ग आउँछ । तर यी अस्थिर र कविलाई समाजका उल्कापात थिए । उल्कापात जसरी चम्किन्थे र त्यसरी नै हराउँथे ।

विश्वको इतिहास कोट्याउने हो भने हामीकहाँ आलोचनाको संस्कृति पहिल्यैदेखि कमजोर रहेको देखिन्छ । प्रश्न उठाउन नपाउनु भनेको आविष्कारमा बिर्को लागाउनु हो । अलोचनाले बहसको माग गर्छ । सत्य र असत्यका बिचमा द्वन्द्व सिर्जन गर्छ । बहस र द्वन्द्वलाई अस्वीकार गर्ने समाज यथास्थितिमा बाँच्न बाध्य हुन्छ । यथास्थितिमा बाँच्नु भनेको प्रगति र अग्रगमनबाट पछि हट्नु हो । अरबहरू युरोप नपुगेका भए र तुर्कहरूले कान्स्टेटिनोपलमाथि कब्जा नजमाएका भए युरोपमा पुनर्जागणको लहर नै आउने थिएन । द्वन्द्वले निर्माणको नयाँ बाटो खुल्छ ।

नेपालमा जनयुद्ध नभएको भए राज्य पुनर्संरचनाको विषय नै उठ्ने थिएन । गणतन्त्र त परको कुरो भयो । युगान्तकारी परिवर्तनका लागि युरोपमा जस्तो यहाँ कुनै उथलपुथल भएन । बाइजेन्टाइन साम्राज्यको पतनले युरोपमा जागृतिको नयाँ लहर सिर्जना ग¥यो । यहाँ त्यस्तो भएन । हिन्दु धर्मको अन्धपरम्परा र जडताले हाम्रो समाज अहिलेसम्म चाम्रिएर बस्न बाध्य भयो । विगतमा जति पनि प्रश्न उठे ती सबै पानीको फोकाजस्तै हराए । प्रश्न गरेकै कारण शास्त्रास्तमा याज्ञवल्क्यले गार्गीलाई टाउको काटिने र खोपडी फुट्नसक्ने ध्वाँस दिएका थिए । यो पौराणिक कुरो हो । उनले त्यसको प्रतिकार गर्न सकिनन् । जसरी ग्यालिलियोले फाँसीको डरले आफ्नो सूर्यकेन्द्रीत सिद्धान्तलाई परित्याग गरे ।

आलोचनाको संस्कृति कमजोर हुनु भनेको निरङ्कुशता बलशाली हुनु हो । निरङ्कुश सत्ताले आलोचना सुन्दैन । विश्वमा अहिलेसम्म त्यस्तो सत्ता छैन, जसले आलोचनालाई स्वीकार गरेको होस् । न कुनै राजनेता त्यस्ता जन्मिए, न कुनै साधुसन्त, जसले आलोचना स्वीकार गरोस् । सायद गौतमवुद्ध मात्र त्यस्ता व्यक्ति हुन् जसले आलोचना सुने र स्वीकार गरे । खोज्ने हो भने अपवादको रूपमा बुद्धजस्ता अरू पनि केही व्यक्ति भेटिन सक्छन् आलोचना स्वीकार गर्ने ।

बहस, विवाद र आलोचना सञ्चेतना र समृद्धिसँग जोडिएको हुन्छ । पश्चिमाहरूले माक्र्सवादमा भएका राम्रा कुराहरू प्रयोग गरेर उन्नति गरे । उनीहरूले आलोचना सुन्छन् । उच्च तहमै सत्तामाथि सङ्कट पैदा नभएसम्म अलोचकको भूमिकालाई अस्वीकार गर्दैनन् ।  नोमचोम्स्की यस्तै आलोचकमध्येका एकजना अमेरिकी नागरिक हुन् । अमेरिकामा नोमचोम्स्कीहरू खुला रूपमा बाँचिरहेका छन् । यता भने आलोचकहरू भटाभट मारिएका छन् । यसको अर्थ हो हाम्रोमा अझै पनि सत्ता आलोचना सुन्न चाहन्न । ऊ आलोचनादेखि दर्सिन्छ ।

हिन्दु अतिवादका विरुद्ध लेखेको कारण केही समय पहिले भारतीय लेखक एमएम कलबुर्गी, नरेन्द्र दाभोल्कर र गोविन्द पान्सरेको हत्या भयो । भर्खरै पत्रकार गौरी लंकेश मारिइन् । त्यस्तै बङ्गलादेशी ब्लगर बसिकुर रहमान, अभिजित राय लगायत चार जनाले धार्मिक अन्धताको आलोचना गरेकै कारण मारिनुपर्यो। यसरी हत्या गर्नुको मुख्य कारण हो आलोचनाप्रति असहिष्णु हुनु । अझ यसरी भनौँ आलोचनाको संस्कृति विकास नहुनु ।

यहाँ आलोचनालाई गालीगलौजको अर्थमा  लिइन्छ । तथ्य र तर्कको आधारमा गरिएको भए पनि आलोचनालाई मानहानी सम्झिने संस्कार छ । ठुलाबडाले गरेको अन्याय, अत्याचार र उत्पीडनलाई नियतिको खेल सम्झिने संस्कृति आजपर्यन्त कायम छ ।

समाज, समय र सिर्जनालाई आलोचनात्मक दृष्टिले चिरफार गरिएन भने सत्यको अन्वेषण कसरी हुन्छ ? जे भइरहेको छ ठिकै भइरहेकोछ र जे हुनेछ ठिकै हुनेछ भनेर कसरी सन्तुष्ट हुन सक्छ आजको मान्छे ? आजको मान्छेले प्रश्न गर्न थालेको छ । समय फेरिएको छ । समयसँगै मानिसले सोच्ने तरीकामा पनि बदलाब आएको छ । हिजो लेखिएको इतिहास, घटना वा परिघटनालाई आलोचनात्मक दृष्टिले पुनर्लेखन र पुनर्अध्ययन गर्ने संस्कृतिको विकास हुँदैछ । चाहे हिजो लडिएका ‘महानतम’ राष्ट्रवादी युद्ध र युद्धवीरको होस् अथवा मासिन्या भनेर इतिहासको गर्तमा धकेलिएका व्यक्ति वा घटनाको होस्, आज पुनर्मूल्याङ्कन हुँदैछ । मान्छेले आफ्ना पुर्खाले गरेको योगदान र सहनुपरेको उत्पीडनलाई पुनः खोज र अध्ययन गर्दैछन् । मानवीय मूल्य र ऐतिहासिक तथ्यलाई नयाँ शिराबाट पुनर्परिभाषित गर्दैछन् । यो भनेको एक किसिमको पुनर्जागरण हो, आलोचनाको संस्कृति हो ।

०००

भर्खरै जारी गरिएको संविधानलाई समाजवाद उन्मुख भनिएको छ । हामी भने पुरानै सोच, शैली र संस्कारद्वारा परिचालित छौँ । सामन्तवाद आलोचना सहन्न, विरोध र बहस सुन्दैन । चाकडी, चाप्लुसी र प्रशंसाको भोको हुन्छ सामन्तवाद । हामी त्यही व्यवस्थाका उत्पादन । सयौँ वर्षदेखि सामन्तवादले सिर्जना गरेका मूल्य मान्यतालाई उपादानको रूपमा लिएर आएका छौँ । एकातिर पुरानोलाई पूरै नभत्काएसम्म नयाँको निर्माण सम्भव हुन्न भन्ने मत हामीसँग छ । अर्कोतिर यस्तो मतले समाजमा अस्थिरता बढाउँछ भन्ने सोच पनि हामीसँगै छ । बिचमा सुधारवादी मतले प्रत्येक परिवर्तनलाई सम्झौतामा टुङ्ग्याउँदै आइरहेको छ । इतिहासदेखि अहिलेसम्म यिनै प्रवृतिबचि सङ्घर्ष हुँदै आएको छ ।

हामीले सिर्जना गर्ने कला साहित्य पनि यिनै प्रवृत्तिका उपज हुन् ।

साहित्य समाजको बोध हो, दृष्टि र विद्रोह हो । समाजसँग अन्तरक्रिया गर्न नसक्नेले साहित्यको मर्म खुट्याउन सक्दैन । मान्छे जनि धेरै समाजका अन्तर्विरोधसँग पैँठेजोरी खेल्दै जान्छ उसले त्यहाँ खुल्न नसकेका अनेकौँ रहस्य भेट्याउँछ । संवेदनाको किनबेच र तुच्छताको पराकाष्ठा अनुभूत गर्छ । त्यसपछि उसले असहमतिको भाषा बोल्छ । विद्रोहको आवाज लेख्छ । यस्तै असहमतिको भाषा बोल्ने एकजना लेखक हुन् अलेक्जेन्डर सोल्झेनित्सिन । सत्ताको आलोचना गरेकै कारण उनलाई शोभियत सरकारले देश निकाला ग¥यो । सत्तासँग पैँठेजोरी खेलेकै कारण दाँते अलिघारे जीवनभर भाग्दै र लुक्दै बाँच्नुपर्यो ।

लेखक हुनुको नाताले हामीले बुझ्नुपर्छ अबोध बच्चाको अन्तरहृदयमा बज्ने भोकको लय र नेताको कपटी हाँसोको भाका एउटै हुन सक्दैन । सत्तासीन नेताको खुसी र बेपत्ता सन्तानकी आमाको खुसीको ग्राफ समान हुन सक्दैन । त्यसो त गुट, उपगुटमा विभक्त पार्टीका होलटाइमर लेखक कार्यकर्ताले यस्तो अनुभूत कमैले गर्छन् । नेताको पछिपछि चमर हल्लाउँदै हिँड्नुमै आफूलाई सफल भएको सम्झिने संस्कृति छ हामीकहाँ । कुनै गुट, समुदाय वा सत्ताले दिएको पुरस्कार वा सम्मानले मात्र लेखकीय कद उचालिएको महसुस गर्ने संस्कृति हावी छ । यस्तोमा आलोचनाको संस्कृति ओझेलमा पर्नु स्वभाविकै हो ।

कला साहित्य भनेको समाजको प्रतिच्छाया मात्र हैन, प्रतिपक्षी विचार पनि हो । सत्ताको बाँसुरीमा लय भर्ने काम कविको हैन । विडम्बना ! अहिले पनि धेरै कवि लेखकको काम सत्ताले गरेका निर्णयमा सहिछाप गर्नु भएको छ । यो क्रम हिँजैदेखि सुरु भएको हो । प्रगतिशील भनिने महाकविले राजा त्रिभुवनको मात्र हैन महेन्द्रको समेत भजन गाए । कवितालाई नयाँ मोड दिने भूपि अन्तिममा निरङ्कुश सत्ताको फोहर नालीमा मुख जोत्न पुगे ।

हिजो सत्ता साझेदारीमा लिप्त कवि लेखकलाई हामीले आलोचना ग¥यौँ, घृणा ग¥यौँ । लेखक सत्ताको प्रवक्ता हुन सक्दैन भन्ने हामीहरू अहिले के गरिरहेका छौँ ? सत्ताको भक्ति राग गाउँदै छौँ कि प्रतिपक्षी कित्तामा उभिएका छौँ ? हुन त अहिलेको सत्ता लोकतान्त्रिक व्यवस्था भएकोले सहभागी भएको भन्ने पनि छन् । गुणवत्ताको हिसावले कुन सही र कुन गलत छुट्याउने कसी व्यवहार हो । व्यवहारमा पहिले र अहिले तात्विक फरक छैन । नामकै आधारमा ठिक भन्ने हो भने समाजवादी व्यवस्थामा किन सोल्झेनित्सिनले सत्ताविरोधी साहित्य सिर्जना गर्नुपर्यो? नामले केही हुँदैन भन्ने कुरा त भारतीय लोकतन्त्रले पनि देखाएको छ । सत्ताको विरोध गरेकै कारण किन मारिँदै छन् लेखक साहित्यकारहरू ? अहिले जसरी सत्ताको निर्णयमा हामीले लाहाछाप लगाइरहेका छौँ, भविष्यले हामीलाई घृणा नगर्ला त ? हामी लेखक कलाकार सत्ताको मिठोमा लोभिन किन नछोडेका हौँला ! कतै यो हाम्रो लेखकीय सत्ताको असफलता त हैन ?

सोह्रौ शताब्दीमा क्राइष्ट, चर्च र पादरीको विरुद्ध विचार राखेको अभियोगमा गियोर्दानो ब्रुनोले जिउँदै जल्नुपर्यो। सन् १६०० मा रोमको खुल्ला ठाउँमा जिउँदै जलाउन लाग्दा पनि उनी आफ्नो मतमा अडिग रहे । उनले ग्यालिलियोको सूर्यकेन्द्रीत सिद्धान्तप्रति आस्था र क्राइष्टको दैवी शक्तिमाथिको अविश्वास अन्तिम समयसम्म पनि छोडेनन् । यो सत्तामाथिको प्रश्न थियो, आलोचना थियो । कपर्निकस सत्ता र धर्माधिकारीबाट जीवनभरि अपहेलित र बहिस्कृत भएर बाँच्नुपर्यो। उनको खगोलसम्बन्धी पुस्तक ‘अन द रिवोल्यूसन अफ द हेवन्ली स्फीयर्स’ लामो समयसम्म प्रतिबन्धित भयो । यति हुँदा पनि उनी सत्ताको अगाडि झुकेनन् । उनको खोज सत्यका खातिर थियो ।

हामीकहाँ मात्र हैन अन्यत्र पनि आलोचनाको संस्कृति कमजोर छ । खासगरी सामन्ती समाज र निरङ्कुश सत्ता भएको समाजमा यस्तो देखिन्छ । दक्षिण एशियामा आलोचनाको संस्कृति झनै कमजोर छ । भारतीय समाजमा आलोचनाको संस्कृतिमा देखिएको स्खलनलाई इङ्गित गर्दै भारतीय समालोचक मेनेजर पाण्डे लेख्छन्, ‘आजकल भारतीय समाजमा यस्तो मानसिकताको प्रभाव बढिरहेको छ, जो विवेकमाथि आस्थाले कब्जा गरोस् भन्ने चाहन्छ र संस्कृतिलाई पूजाको वस्तु मान्दछ । ऊ आलोचनासित डराउँछ र चिढिन्छ । यसकारण आलोचनाको अन्त्य चाहन्छ । यो ‘कछुवा धर्म’ को संस्कृति हो । आलोचना संस्कृतिको जीवन्तताको लक्षण हो  र उसको गुणवत्ताको कारण पनि । हाम्रो सामुन्ने आज मुख्य प्रश्न साहित्यको आलोचनाको कुनै एक रूपको परिष्कार हैन आलोचनाको संस्कृतिको रक्षाको हो ।’(पाण्डे : २०१२ : १८)

हाम्रो साहित्यिक सांस्कृतिक वृतमा आलोचनाको संस्कृतिबारे कमै बहस भएको देखिन्छ । विश्व इतिहास पढ्दा पनि थाहा हुन्छ, सत्ता आलोचनाको संस्कृति रुचाउँदैन । ऊ प्रशंसा खोज्छ । प्रशंसाकै भोकले बादशाह नाङ्गै सहरमा निस्किएको कथा हामी सबैले पढेका छौँ । अहिले हेर्दा प्रबुद्ध भनिने नागरिक समाज, कलाकार, साहित्यकार र बुद्धिजीवीहरू त्यही नाङ्गो बादशाहको प्रशंसा गर्नमै निमग्न छन् । ‘बादशाह त नाङ्गै पो रहेछ’ भनेर बच्चाजत्तिको आलोचक पनि हुन सकिरहेका छैनन् । किन सत्ताको अगाडि नतमस्तक भइरहेका छौँ हामी ? यो अहिलेको समयको सङ्गीन प्रश्न हो । माधवराज जोशी जत्तिको पनि हुन सकिरहेका छैनौँ हामी लेखक साहित्यकार ।

साहित्य सीमान्त आवाज हो । सीमान्त आवाजलाई केही मान्छेहरू आलोचना भन्छन् । आलोचक हुनु सत्ताविरोधी कुरो हो । सत्ताको आलोचना गर्नु भनेको सत्ताको बहिष्करणमा पर्नु, पारिनु वा मारिनु हो । सत्ताको आलोचना गर्दा कति कवि, लेखक र चिन्तक मारिनु पर्यो। चार्वाक आलोचक भएकैले मारिए । सिद्धिचरण सत्ता विरोधी भएकैले थुनिए । यस्ता धेरै प्रसङ्ग छन् । सत्ता विरोधी साहित्य सिर्जना गरेकै आधारमा कैयौँ लेखक सत्ताको कोपभाजनमा परेका छन् । मारिएका छन् । यो सबैलाई थाहा भएकै कुरो हो । कविताले आलोचना बोलेकै कारण पुश्किन मारिनु पर्यो। मिखाइल लेम्रोतोभले ‘गोलीको आवाज’ नामक कविता लेख्दा निर्वासित हुनु पर्यो। आलोचक भएकैले यिनी पनि अन्तिममा मारिनु पर्यो। कविता लेखेकै र सत्ताको विरोध गरेकै कारण दाँते जिन्दगीभर भाग्दै र लुक्दै हिँड्नु पर्यो। भारतीय लेखक अवतार सिंह पास मारिनुको मुख्य कारण कविता नै थियो । केहीदिन अघिमात्र फयादलाई झण्डै झुण्डिनु परेन । धेरै छन् यस्ता घटना । हाम्रै देशभित्र पनि कैयौँ कविलेखक लेखेकै कारण जेलमा बस्नुपर्यो। कवि कृष्णसेन इच्छुक कविता लेखेको र सत्ताविरोधी समाचार सम्प्रेषण गरेकैले मारिए । च्याङ्वा लामा, चुनु गुरुङ लगायत सयाँै कवि कलाकार सत्ताविरोधी गीत गाएकैले मारिए ।

एउटा लेखकमा आलोचनात्मक दृष्टि कमजोर हुँदै जानु भनेको ऊ विस्तारै मर्दै जानु हो । विष नभएको सर्प जस्तै हो बागीचेतविनाको लेखक । विद्रोहचेत कमजोर हुनु यथास्थितिसँग आत्मसमर्पण गर्नु हो । कुनै समय गुणगान, प्रशंसा र प्रसस्ती गाउनुलाई साहित्य भनिन्थ्यो । अहिले त्यस्तालाई भाटगिरी भनिन्छ ।

केही वर्ष पहिलेको एउटा घटना सम्झिन्छु । मेरो पछिल्लो कवितासङ्ग्रह ‘घाइते ह्विलचेयर’को अन्तरक्रिया आयोजना गरिएको थियो । कवितासङ्ग्रहको सम्यक् विवेचना गर्न बोलाइएका एकजना प्रध्यापकले सङ्ग्रहभित्रको ‘दिग्भ्रमित बटुवा’ शीर्षकको कवितालाई लिएर तथानाम गाली गरे । उनले गाली त गरे तर अरूको कुरा नसुनी हिँडे ।

सामन्ती संस्कार भनेको अरूलाई गाली गर्ने, हेप्ने र दबाउने हो । त्यो पनि आफूलाई चाकडी नगरेको झोकमा । प्रशंसा नगरेको रिसमा । आलोचकले त अरूलाई पनि सुन्न सक्नुपर्छ । आलोचकमा धैर्यता हुनुपर्छ । तातो आवेग र गुटउपगुटको फेरोमा परेर आलोचना गर्नु न्यायसङ्गत हुन्न ।

मैले कवितामा व्यक्त गरेको कुरा केही वर्ष पनि बित्न नपाउँदै सत्यसावित भयो । माओवादी नेताहरू दिग्भ्रमित भएका थिए । आस्था र विश्वासदेखि दिग्भ्रमित हुनु यात्राविहीन हुनु हो । हेर्दाहेर्दै माओवादी आन्दोलन यात्राविहीन बन्न पुगेको जगजाहेर नै छ । त्यसो त त्यहाँ उनीमात्रै थिएनन् ‘घाइते ह्विलचेयर’को विरोध गर्ने । प्रायः सबै वामपन्थी समालोचकबाट समान किसिमको आलोचना खेप्नुपर्योमैले । सबैको एउटै धारणा थियो, ‘प्रगतिवादी कविले आफ्नै पार्टीनेतृत्वको अलोचना कसरी गर्न सक्छ ?’

हामी साहित्यकारमा द्वैधचरित्र हावी छ । आलोचनाका नाममा हामीले दुईटा चस्मा प्रयोग गर्छौं । यो द्वैधचरित्रवाला चस्मा अहिले झनै हावी हुँदै गएको छ । यही चस्माकै कारण काला व्यापारी, भ्रष्ट प्रशासक र साहित्यका नैतिकहीन व्यापारी हेर्दाहेर्दै महान् साहित्यकार बनेका छन् । साहित्यका सेलीब्रेटी भएका छन् । जीवनभर कला साहित्यमा साधनारत लेखक साहित्यकार निकै पछि छुटेका छन् । सीमान्तकृत हुँदै गएका छन् ।

आफ्नो समुदाय, गुट वा उपगुटलाई हेर्नुपर्योभने एउटा र अरूलाई हेर्नुपर्योभने अर्को चस्मा प्रयोग गर्छौं हामी । यसरी द्वैधचरित्रवाला चस्माले हेर्दा आफ्नो विचारको नजिक छ भने भ्रष्टचारी पनि महान् देखिन्छ । अझ पार्टी र सत्ताको उच्चासनमा छ भने उसलाई कसले नराम्रो देख्नु ? ऊमाथि कसले प्रश्न उठाउनु ?

हुन त लेखक साहित्यकार नै भ्रष्ट र नैतिकहीन हुँदै गएको समाजमा राजनीतिमा असल चरित्र कसरी निर्माण हुन सक्छ र ! तै पनि मेरो भनाइ के हो भन्दा सधै एउटै सत्यले राज गर्न सक्दैन । एक न एकदिन पर्दा खस्ने छ । हाम्रो अघि महान् साधक कहलिएकाहरू कठघरामा उभिने दिन आउने छ । जसरी भूपि र देवकोटा उभिएका छन् । अहिले निम्छराहरू धेरै बोल्न सक्ने अवस्था छैन । धेरै बोल्यो भने विचलनको आरोप लाग्न सक्छ । मान, सम्मान र पुरस्कारको माखेसाङ्लोमा फस्दै गएको समय हो यो । सिङमा शोर्णमुद्रा झुन्डिएका हजार गाई खेद्दै गरेको याज्ञवल्क्यले अत्तो थाप्न सक्छ । उसले भन्न सक्छ गार्गी धेरै प्रश्न नगर तेरो खोपडी फुट्न सक्छ । यस्तो समयमा आलोचनाको संस्कृति कमजोर हुनु स्वभाविकै छ ।

असङ्गत समयको विरुद्ध कविता लेख्नेले सत्तासँग तावेदारी गर्न सक्दैन । तावेदारी गर्नेले हातमा पुरस्कार र असर्फी समाएर उभिएका पश्चगमनकारीको उछित्तो काड्न सक्दैन । हाम्रो साहित्यले कम्तीमा पनि सामाजिक सुधार र अग्रगमनतिरको मार्ग त देखाउन सक्नुपर्छ । नैतिक मूल्यमाथि प्रश्न उठाउन नसक्ने साहित्य केको साहित्य ! सामाजिक चेतनाको मुख्य आधार भनेको आलोचना हो । सत्ताले गरेका कामको व्याख्या गर्ने काम लेखकको हैन । लेखक व्याख्याकार हैन आलोचक हुन सक्नुपर्छ । आलोचना सम्यक् विवेचना हो भने किन डराउँछ एउटा लेखक सत्ताको आलोचना गर्न ? किन हाम्रा लेखक साहित्यकार सत्ताको ताजमा राग गाउन प्रज्ञाप्रतिष्ठातिर बुर्कुसी मार्छन् ?

हामी साहित्यकारमा देखिएको अर्को असङ्गति हो सत्ताको हुन्डीमा रमाउँदै सत्ताविरोधी साहित्य सिर्जना गर्नु । हुन त हामी सिर्जना र कर्ममा सङ्गति हुनुपर्छ भन्छौँ । तर गर्छौं अर्को । यसरी सत्ताको जुठोमा पनि रमाउनु र लेखनमा पनि क्रान्तिकारी भैटोपल्नु द्वैधचरित्र सिवाय अरू केही होइन । यो भनेको असङ्गतिको पराकाष्टा हो । केही समय अघि लेखक नयनराज पाण्डेले आफ्नो फेसबुक वालमा लेखेका थिए, ‘सरकारलाई गाली गर्छौ । सत्तालाई सराप्छौ । तर, त्यही सत्ता÷सरकारले बनाइदिएको एकेडेमीमा जान, प्राज्ञ बन्न ज्यान फालेर लाग्छौ । कवि कि आफ्नो चिन्तनमा सुधार गर कि सच्याऊ अब आफ्नो कविता ।’ (पाण्डे : २०१७) यस्तो विरोधाभास छ हाम्रो आलोचनाको संस्कृतिमा ।

कतिपय कविलेखकले सरकारी पुरस्कार र नियुक्ति लिन्छन् र लाजै नमानी त्यही सरकारको आलोचना गरेर साहित्य पनि सिर्जना गर्छन् । आख्यानकार नारायण ढकाल पनि यस्ता लोभी र ढोँगी लेखकको चरित्र देखेर भ्रमित भएको सुनाउँछन् । उनी यस्तो द्वेधचरित्र भएका कवि लेखक हामीकहाँ मात्र हुन्छन् कि अन्य देशमा पनि हुन्छन् भनेर प्रश्न गर्छन् । उनी लेख्छन्, ‘एउटा कवि कवितामा जति क्रान्तिकारी देखिन्छ, जीवनमा ठीक उल्टो देखिन्छ । अर्को लेखक साहित्यमा अनैतिक सत्ताको विरोध त गर्छ, तर सरकारद्वारा प्रत्यक्ष व अप्रत्यक्ष रूपमा दिइने आसचपु वा पुरस्कार लिन पनि उत्तिकै मरिहत्ते गर्छ । झन् अर्को कवि कवितामा सत्ताको विरोध गर्छ, तर फेरि उही समय प्रतिक्रियावादी देशी वा विदेशी संस्थाको नुन चाट्न उत्तिकै उत्साहका साथ जिब्रो फट्कार्छ । अनि अर्को आख्यानकार महान् गणतन्त्रको पक्षधर बन्छ, तर पञ्चायतले बिटुलाएको प्रज्ञा प्रतिष्ठानको कौमार्य भोग्न त्यत्तिकै लुब्ध हुन्छ । यी दृश्यहरू देखेर म भ्रमित भएको छु । भन्नुहोस् त यस्तो दोहोरो जीवन बाँच्ने स्रष्टाहरू यहाँ मात्र छन् कि अरू देशमा पनि छन् ?’ (ढकाल : २०७६)

त्यसो त सत्ता भन्दाबित्तिकै सरकार बुझ्ने चलन छ हामीकहाँ । सरकार अथवा कार्यपालिका  । सत्ता भनेको त्यत्ति मात्र हैन । धेरै शक्तिहरूको केन्द्रीकरणबाट सत्ताको निर्माण भएको हुन्छ । एउटा व्यक्ति पनि आफैमा सत्ता हो । एउटा परिवार पनि आफैमा सत्ता हो । आफ्नै सत्ताविरुद्ध निर्मम बन्न नसक्ने मान्छे केको लेखक बन्नु ?

साहित्यकार वा आलोचक कलाप्रति मात्र जवाफदेही भए पुग्छ कि समग्र सामाजिक जीवनसँग जोडिनुपर्छ ? साहित्यकारको दृष्टि कलासाहित्यमा पुगे हुन्छ भन्ने अन्धविश्वास छ हामीकहाँ । उसले राजनीतिप्रति चासो किन लिने भन्ने पनि सुन्नमा आउँछ । यो गलत सोच हो । एउटा आलोचक चाहे त्यो स्रस्टा होस् अथवा द्रस्टा ऊ समाजप्रति उत्तरदायी हुन सक्नुपर्छ । आलोचकले समाजका सबै विषयमा प्रश्न उठाउन सक्नुपर्छ । भारतीय आलोचक शंभुनाथले आलोचकको भूमिकाप्रति प्रश्न उठाउँदै लेख्छन्, ‘अधिकांश आलोचकले आलोचनालाई शुद्ध साहित्यिक विषय बनाउँदै आलोचनाको सामाजिक आँखिझ्याल खोलेनन् । कसैले सामाजिक दरबाजा खोले तर साहित्यिक आँखिझ्याल बन्द गरे  ।’ (शंभुनाथ : २०१२ : १०१) 

मलाई लाग्छ, जबसम्म एउटा लेखक वा बुद्धिजीवी सत्ताबाट केही प्राप्त गर्ने आशामा रहन्छ, उसले सत्ताको विरोध गर्न सक्दैन ? सत्ताको विपक्षी धारमा उभिन नसक्नु भनेको भूपिको बाटो समाउनु हो । महाकवि बन्ने लोभमा देवकोटालेझैँ महाराजाको प्रशंसा गाउनु हो ।

लाभको पदमा नियुक्तिको लोभले एउटा क्रान्तिकारी कवि कसरी भत्किदै र खुइलिँदै जान्छ ? कसरी ऊ कवि वा कलाकारको उच्चासनबाट तलतल खस्दै जान्छ ? नेपालका धेरैजसो कविलाई हेरे पुग्छ । हुन त कतिपय कवि लेखकले आफू राजनीतिक नियुक्तिमा नगएकोमा गर्व गर्छन् । आफूले सत्ताको हुन्डी नखाएकोमा घमण्ड गर्छन् । यसरी गर्व गर्ने मनुवाहरू राजनीतिक नियुत्तिमा आफूले नपाएर नगएका हुन् कि पाएर पनि नगएका हुन् । अथवा हुन्डी खाएर पनि नदेखिएका हुन् । खुट्याउनु पर्ने भएको छ ।

नपाउने भएपछि आलोचना गर्नुको तुक हुन्न । नपाएर नजानु र पाएर पनि नजानु एउटै कुरो हैन । पारिजात मात्र त्यस्ती उदाहरण हुन् जो पाएर पनि सत्ताको मिठोमा बिकिनन् । सत्ताभक्तिमा लिप्त कवि प्राज्ञदेखि प्रधानमन्त्रीसम्म सबैलाई ‘तिमी नै मेरो सम्पूर्ण हौ’ भन्दै परिक्रमा गरिरहेको हुन्छ । आराधना गरिरहेको हुन्छ । पछिल्लो समय त केही इमान्दारिता जोगाएर बसेकालाई पनि यो बाध्यताजस्तो बनेको छ । पार्टीको कार्यकर्ता नबनेसम्म प्रध्यापकको परीक्षामा समेत उतीर्ण हुन नसक्ने स्थिति छ । हामीले बुझ्नुपर्छ सत्ताले ‘भाट’ निर्माण गर्न यस्तो परिस्थितिको निर्माण गर्छ ।

०००

एक पटक एकजना प्राज्ञ÷कविले भने, ‘विष्णुजी नाम कमाउने दौडमा हुनुुहुन्छ ।’

उनको कुरा सुनेर म सोचमग्न भएँ । लाग्यो, यी विद्वान कविमा पनि प्रसस्तै दृष्टिदोष रहेछ । उनको कुरा सुन्दा उदेक लागेर आयो । उनको आशय थियो, ‘पहेँलो घामले नाम त कमाउला तर आन्दोलनलाई फाइदा गर्दैन ।’ आलोचनाले फाइदा गर्दैन भन्ने मानसिकताको ‘क्लाइमेक्स’ हो यो ।

एउटा लेखकका लागि आन्दोलन भनेको के हो ? उसको आन्दोलन भनेको पार्टी राजनीति हो कि बेथितिविरुद्धको अभियान हो ? लेखक पार्टीको प्रवक्ता हुन्छ कि सामाजिक दुस्कर्मको आलोचक ? हामीले प्रवक्ता र कलाकारबिचको भिन्नता छुट्याउनै पर्छ । आजको पुस्ताले यसतर्फ बहस गर्नैपर्छ । आलोचनात्मक चेतना भएन भने उसले जति नै लेखे पनि ती सबै कागजका खोस्टा सिवाय केही हुन्नन् ।

हामीसँग आलोचनाको संस्कृतिलाई मजबुत बनाउनुको विकल्प छैन । कुरूप वर्तमानबाट सुन्दर भविष्यको गोरेटो निर्माण गर्न प्रश्न उठाउनुको विकल्प छैन । चुनौती मोलेरै भए पनि वर्तमानसँग जोरी खोज्न सक्नुपर्छ । यथास्थितिसँग आँखा जुधाउन नसक्नु भनेको सम्झौता गर्नु हो । जब मान्छे अग्रगमनसँग एकाकार हुन सक्दैैन, उसको चेतनाको स्खलन सुरु हुन्छ । आलोचनाहीन मान्छे जड हुन्छ, पखेटाविनाको पंछीजस्तो । बाज हुने कि कुखुरो ? वर्तमानले हामीतिर तेस्र्याएको प्रश्न गम्भीर छ ।

सन्दर्भ सामग्री

पाण्डे, मेनेजर । आलोचना की सामाजिकता : नयाँ दिल्ली, वाणी प्रकाशन, २०१२

पाण्डे, नयनराज । फेसबुक स्टाटस, १७ जुलाई, २०१७

ढकाल, नारायण । पञ्चायतको जुठो टपरीः नयाँ पत्रिका दैनिक, झन नयाँ, १८ श्रावण, २०७६

शंभुनाथ  । संस्कृतिकी उत्तरकथा : नयाँ दिल्ली, वाणी प्रकाशन,  २०१२

(गण्डकी सङ्गम :  वर्ष २४, पूर्णाङ्क १६, २०७६ मा प्रकाशित)


  प्रकाशित मिति : ३० जेष्ठ २०८०, मंगलवार १२:१२